मन्थलीमा स्वास्थ्य र शिक्षा अधिकारका विषयमा अन्तरक्रिया
रामेछाप । २०७८ कात्तिक १७ गते
मन्थली नगरपालिकामा स्वास्थ्य र शिक्षा अधिकारका विषयमा अन्तरक्रिया कार्यक्रम कात्तिक १६ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जालले अन्तरक्रिया कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा मन्थली नगरपालिकाको महाशाखा प्रमुख हेमन्तकुमार बुढाथोकीले नगरपालिकाको शिक्षा क्षेत्रमा कोभिडले पारेको प्रभावलाई ध्यानमा राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै शैक्षिक गतिविधि अघि बढाइएको बताउनुभयो ।
उहाँले नगरपालिकाका सबै विद्यालयका प्रधानाध्यपकलाई राखी कोभिडको प्रभाव र विद्यालयले गरेको व्यवस्थापनको बारेमा छलफल गरेको जानकारी दिनुभयो । सो क्रममा हालसम्म समस्या नआएको प्रधानाध्यापकहरूले रिपोर्टिङ गरेको उहाँले बताउनुभयो । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले नगरपालिकाले हालसम्म १६ हजार ५ सयभन्दा बढी नागरिकलाई खोप लगाइसकेको जानकारी दिनुभयो । उहाँले यस वर्ष नगरपालिकाका सबै नागरिकको मिर्गौला परीक्षण गर्ने पनि बताउनुभयो । त्यस्तै मुट र मधुमेहको जाँच शिविर राखिने उहाँले बताउनुभयो । कोभिड विरुद्धको खोप लगाउने अनलाइन फाराम भर्न नसक्नेलाई सहजिकरण गरिने पनि उहाँले पनि बताउनुभयो ।
नागरिक समाजले कोभिड–१९को जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सेवा र शिक्षालाई थप प्रभावकारी बनाउन स्थानीय सरकारलाई सुझाव दिएको थियो । जिल्ला बार रामेछापका अध्यक्ष बिचारसिं तामाङ, गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य मिलन घिसिङ, रामेछापका उपाध्यक्ष रत्न प्रसाद कँडेल, जनजाति महासंघका पूर्वअध्यक्ष खड्ग आलेमगर अधिवक्ता बाबुकाजी दाहाललगायतले सङ्क्रमण घटेपनि जोखिम कायमै रहेकोले विद्यायल र भिडभाड बढी हुने स्थानमा स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाइ गर्न मन्थली नगरपालिकालाई सुझाव दिनुभएको थियो ।
नवराज घिमिरे