








मकवानपुर । २०७८ मङ्सिर १० गते
गैरसरकारी संस्था महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष जीतराम लामाले राज्यले महामारीको समयमा नागरिक समाजलाई हेर्ने नजर परिवर्तन गर्न नसकेको बताउनु भयो । इन्सेक बागमती प्रदेशको आयोजना तथा गैरसरकारी संस्था महासङ्घ बागमती प्रदेश समितिको सहकार्यमा मङ्सिर ९ गते हेटौँडामा आयोजना गरेको महामारी र विपद्ले नागरिक समाजमा पारेको असर सम्बन्धमा गरिएको अध्ययनउपर छलफल कार्यक्रममा अध्यक्ष लामाले महामारीको समयमा राज्यले अग्रपङ्क्तिमा खटिने भनेर पत्रकार, सुरक्षाकर्मीहरूलाई राख्ने तर नागरिक समाजलाई उपेक्षा गर्दा महामारीमा नागरिक समाजले गरेका कामहरु बाहिर आएनन् । ‘महामारीमा स्रोत जुटाउन नागरिक समाजलाई गुहार्ने र नागरिक समाजलाई राज्यले हेर्ने नजर परिवर्तन हुन सकेन । महामारीको समयमा नागरिक समाजको भुमिका महत्वपूर्ण हुन्छ ।’–उहाँले भन्नु भयो ।
इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले विपद र महामारीको समयमा नागरिक समाजको भुमिका अपरिहार्य हुने बताउनु भयो । विपद र महामारीमा राज्यले नागरिक समाजलाई फ्रण्टलाइनरको रूपमा नहेर्दा नागरिक समाजले चाहेर पनि कामहरू गर्न नसकेको बताउनु भयो । शिक्षाका लागि साझा अभियान प्रदेश संयोजक, बाल कल्याण नेपालका प्रकाश खतिवडाले सरकारले नीति निर्माणको क्रममा दुरगामी निर्णय हुन नसक्दा कार्यान्वयन प्रभावकारी बन्न नसकेको बताउनु भयो ।
यस्तै हिमराइट्स नेपाल मकवानपुरकी संयोजक कुमारी वाइवाले महामारीमा नागरिक समाजले निकै समस्या भोग्नुपरेको गुनासो गर्नुभयो । नागरिक समाजलाई राज्यले फ्रण्टलाईन नमानेका कारण राज्यको सेवा सुविधाबाट वञ्चित हुनुपर्दा पीडितको पक्षमा खुलेर काम गर्न नसकिएको बताउनु भयो ।
शान्तिका लागि साझा अभियान(कोक्याप)का कोषाध्यक्ष अर्जुन ढकालले महामारीको समयमा बनाइएको क्वारेण्टाइन अहिले संरक्षण हुन नसक्दा फेरि आउन सक्ने महामारीमा क्वारेण्टाइनलाई पुनः ठूलो लगानीमा पुनर्निर्माण गर्नपर्ने देखिएको भन्दै राज्यको तीन ओटै तहले ध्यान दिनुपर्ने बताउनु भयो । राष्ट्रिय अपाङ्ग महासङ्घकी जिल्ला अध्यक्ष जमुना तितुङले महामारीमा अपाङ्गता भएका व्यक्तिले समस्या भोग्नु परेको समस्या बताउनु भयो ।
अपाङ्गमैत्री क्वारेण्टाइन, आइसोलेशनहरू नबन्दा सेवा लिन निकै सास्ती भोग्नुपरेको भन्दै अन्य आउनसक्ने महामारीको समयमा पुर्वाधार निर्माण गर्दा अपाङ्गता भएका व्यक्तिहरूको ध्यानमा राखेर निर्माण गर्नुपर्नेमा जोड दिनु भयो । महिला अधिकारकर्मी शान्ता बरालले कोभिडको समयमा बालबालिकासँगै महिला बढी प्रभावित बनेका बताउनु भयो । सिविन बाल हेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले कोभिड–१९ को महामारीमा बालविवाहको घटनामा वृद्धि भएको बताउनु भयो । माइती नेपाल मकवानपुरकी संयोजक माया लामाले लकडाउनको समयमा हिंसामा बढेको भन्दै चिन्ता व्यक्त गर्नु भयो । यसैगरी अधिवक्ता अप्सरा बस्नेतले महामारी र निषेधाज्ञाको समयमा भएका घटनाहरूमा पीडितले न्याय पाउन कठिन भएको बताउनु भयो ।
कार्यक्रममा इन्सेकका निर्देशक श्रीराम बजगाईंले कोभिड–१९ को महामारीको समयमा नागरिक समाजलाई कस्तो समस्या भोग्नुप¥यो, महामारीले नागरिकको अधिकारको क्षेत्रमा कार्यरत सङ्घसंस्थालाई कस्तो चु्नौती थपिएको छ भन्ने विषयमा गरिएको अध्ययन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन अनुसार विपद्ले नागरिक समाजको क्षेत्र साँघुरो बन्दै गइरहेको छ । ‘कोभिड पश्चात् समाजको मानवीय व्यवहार बदलिएको छ । यस्तै समाजमा हुने अन्तरक्रिया कम भएको छ । र समाजमा नागरिकको अधिकारका बिषयमा पहिलेजस्तै सक्रिय हुन चुनौती बढेको थपिएको छ ।’–निर्देशक बजगाईंले भन्नु भयो ।
पु्ष्पराज अधिकारी