महिलामाथि हुने हिंसा सम्बन्धमा स्थानीय सरकार र महिलाहरूबीच अन्तरक्रिया सम्पन्न

मकवानपुर । २०७९ मङ्सिर २१ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मकवानपुरको दुई पालिकामा महिलामाथि हुने हिंसा सम्बन्धमा स्थानीय सरकार र महिलाहरूबीच अन्तरक्रिया कार्यक्रम गरेको छ । इन्सेकले अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकामा मङ्सिर २० र हेटौँडा उपमहानगरपालिकामा मङ्सिर २१ गते कार्यक्रम गरेको हो । हेटौँडा उपमहानगरपालिका-१९ को समन्वयमा ०७९ मङ्सिर २१ गतेभएको कार्यक्रममा सहभागिता जनाउन आएका महिलाहरुले यस्ता कार्यक्रमहरू वडा कार्यालयहरुमा भन्दा पनि गाउँ केन्द्रीत भएर महिलाहरू सँगै पुरुषलाई पनि राखेर गरिदिए महिला हिंसा अन्त्य हुन सहयोग पुग्ने बताएका छन् ।

     

केही महिलालाई मात्रै नभई गाउँघरका पीडित महिलाहरूको लागि सङ्घ, संस्थाहरूले आवाज उठाउनुपर्ने दबाव समेत दिए । कार्यक्रम हेटौँडा उपमहानगरपालिका-१९ का कार्यबाहक वडाध्यक्ष रमा गोलेको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका समाज कल्याण शाखा प्रमुख भैरवबहादुर कुमाल, वडा सदस्य रिता बिक, वडा सचीव  राजेन्द्र पोखरेल, मेलमिलाप संयोजक कृष्णप्रसाद पौडेल, इलाका प्रहरी कार्यालयका सई नसिम मिया अन्सारी, इन्सेक सहजकर्ता सलिना गौतम लगाएतको उपस्थिति रहेको थियो । पत्रकार शिवकुमार रिजाल काशीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो भने इन्सेक नेपालका कार्यक्रम संयोजक कृष्ण नेपालले कार्यक्रमको संयोजन गर्नुभएको थियो ।

पुष्पराज अधिकारी