महिलालाई अवसरबाट वञ्चित नगरौँः उपप्रमुख थनेत

नवलपरासी (सुस्ता पूर्व) । २०८० फागुन २७ गते

महिला भएकै कारण कुनै पनि अवसरमा पछि पार्न र पर्न नहुने कावासोती नगरपालिकाका उपप्रमुख फूलकुमारी थनेतले बताउनुभएको छ । ११४ औँ अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको आयोजना, इन्सेक गण्डकी प्रदेश, एन्साब नेपाल, र ग्रिन फाउण्डेशन नेपाल नवलपुर लगायतका विभिन्न संघसंस्थाको समन्वयमा कावासोतीमा फागुन २७ गते आयोजना गरिएको महिला नेतृत्वमा रहँदा देखिएका, भोगेका समस्या र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै  उपप्रमुख थनेतले उक्त कुरा बताउनुभएको हो । नेपालमा जनसंख्याको हिसाबले पुरुष भन्दा महिलाको संख्या बढी रहेको भए पनि नेतृत्वदायी भूमिकामा ज्यादै न्यून संख्यामा मात्रै महिलाहरू रहेको जिकिर गर्नुभयो । महिलाहरूलाई अवसर नदिने परिपाटीका कारण नेतृत्व तहमा महिलाहरू संख्यात्मक रुपमा कम रहेको उहाँले बताउनुभयो । महिलाहरूको ३३ प्रतिशत होइन ५० प्रतिशत सहभागिता सुनिश्चित हुनुपर्ने समेत उहाँले बताउनुभयो । महिलाले गर्न नसक्ने काम केही पनि नरहेको भन्दै उहाँले आँट र हिम्मतका साथ मैले गर्न सक्छु भनेर अगि बढ्न सम्पूर्ण महिलाहरूलाई आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै  देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारीले महिलाहरू नेतृत्व तहमा पुग्नेको संख्या नगन्य मात्रामा रहेको बताउनुभयो । यसको मुख्य कारण भनेको हाम्रो समाजमा व्याप्त रहेको संस्कारका कारण रहेको बताउनुभयो । अझै पनि महिलालाई दोश्रो दर्जाका रुपमा हेर्ने सामाजिक परिवेश र पितृसत्तात्म्मक सोँचका कारण महिलाहरू पछि पर्न बाध्य भएको बताउनुभयो ।

   

हिजोका दिनमा भन्दा आजको समयसम्म आइपुग्दा महिलाहरूले केही अधिकारहरू प्राप्त गरेको भए पनि जति प्राप्त हनुपर्ने हो त्यति भने प्राप्त हुन नसकेको उहाँको भनाई थियो । महिलाको क्षेत्रमा लगानी बढाउँदै क्षमता र व्यक्तित्व विकासका कार्यक्रम गर्न आफ्नो पालिकाले पनि पहल गरेको र अन्य सबै सङ्घसंस्थाहरूले पनि महिलामाथि लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रिय सदस्य सीता खड्काले महिलाहरू नेतृत्वमा रहँदा भोगेका समस्या र चुनौती भनेरै नसकिने रहेको भन्दै ती चुनौतीलाई सामना गरेर महिलाहरु अग्रसर भएको बताउनुभयो । कार्यक्रममा महिला नेतृत्वमा रहँदा देखिएका, भोगेका समस्या र चुनौतीलाई समूह बनाई बुँदागत रुपमा प्रस्तुत गरिएको थियो । जसमा योग्यता अनुसार महिलालाई अवसरबाट बन्देज गराइने, बाध्यात्मक अवस्थामा मात्रै महिलाको खोजी गरिने, असमान ज्याला, महिला लक्षित कार्यक्रमको कमी, घरयासी कार्यबोझ बढी हुँदा समय व्यवस्थापन गर्न गाह्रो हुने गरेको, निर्णय प्रकृयामा राजनैतिक दवाब दिने गरिएको जस्ता समस्या र चुनौती रहेको औल्याइएको छ । कार्यक्रममा देवचुली नगरपालिका– ७ का अध्यक्ष भुमीसरा आले, कार्यपालिका सदस्यहरु, एन्साब नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला र स्थानीय, विभिन्न सामुदायिक वन उपभोक्ता समूह लगायतका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

ज्ञानु पंगेनी