महिलाहरूका लागि नेतृत्व तथा क्षमता बिकास तालिम

कपिलवस्तु । २०७८ माघ २६ गते

बाणगङ्गा नगरपालिकाको सहयोग तथा इन्सेक र मानव अधिकार समूहको आयोजनामा महिलाहरूका लागि नेतृत्व तथा क्षमता बिकास तालिम माघ २५ गते सम्पन्न भएको छ । दुई दिने नेतृत्व तथा क्षमता बिकास तालिम बाणगङ्गा नगरपालिका– १० र ११ का महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको हो । तालिममा सहभागी लक्ष्मी भुषालले नेतृत्व  बिकास र महिला अधिकार अन्तरर्गत संविधानले व्यवस्था गरेका संवैधानिक अधिकारका बिषयमा जान्न र बुझ्न पाएको बताउनु भयो । बाणगङ्गा नगरपालिका–११ का वडा अध्यक्ष सोमनाथ अर्यालले वडाका जुनसुकै कार्यक्रमहरू गर्दा समूदायलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भयो । उहाँले नयाँ नेपालले धेरै परिवर्तन ल्याएको बताउँदै नेतृत्व बिकास तालिम प्रत्येक घरघरमा हुन आवश्यकता रहेको बताउनु भयो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुशिला पन्थले नेतृत्व बिकास तालिमले घर परिवार देखि समाज परिवर्तन गर्न टेवा पुग्ने बताउनु भयो । साथै तालिममा सिकेका कुराहरूलाई व्यबहारमा ल्याउन सहभागिहरूलाई आग्रह गर्नु भयो । यसैगरी, मानव अधिकार समूहका सदस्य देवकला सुवेदी कमालले घर परिवारमा पनि नेतृत्वको आवश्यकता हुने भएको हुँदा घर देखि नेतृत्व गर्न सके समाजमा नेतृत्व गर्न सकिने बताउनु भयो । तालिमको सहजीकरण मानव अधिकार समूहका कोषाध्यक्ष  थानेश्वर अधिकारी र हरिशचन्द्र खनालले नेतृत्व के हो , नेतृत्वको आवश्यकता , भूमिका , दायित्व र महिला अधिकार अन्तरर्गत संविधानले व्यवस्था गरेका संवैधानिक अधिकार लगायतका बिषयमा सहजीकरण गर्नु भएको थियो । तालिममा बाणगङ्गा नगरपालिका– १० र ११ का २५ जना महिलाहरूको सहभागिता रहेको थियो ।

पार्वती आचार्य