महिला, दलित तथा यौनिक अल्पसंख्यकलाई मुलप्रवाहीकरणमा ल्याउन जोड

सुर्खेत । २०७७ असोज २० गते

 

महिला, दलित तथा यौनिक अल्पसंख्यकहरुका सवाललाई मुलप्रवाहीकरणमा ल्याउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले असोज २० गते भर्चुअल मार्फत गरेको महिला, दलित तथा यौनिक अल्पसंख्यकहरूको अधिकार विषयक कार्यशालामा सहभागीहरूले सो कुरामा जोड दिएका हुन् । सहभागीहरुले मुलुकको संविधान तथा ऐन कानुनहरूमा महिला, दलित तथा यौनिक अल्पसंख्यकहरूको अधिकार सुनिश्चित गरिएपनि कार्यान्वयन पक्ष फितलो भएकोले उनीहरु आफनो अधिकार उपभोग गर्नबाट बञ्चित हुनुपरेको उल्लेख गरेका थिए ।

महिला, दलित तथा यौनिक अल्पसंख्यकहरूको अधिकार प्रत्याभूतिहुने गरी  मुलप्रवाहीकरणमा नल्याएसम्म मुलुकको समग्र विकासको परिकल्पना गर्न नसकिने सहभागीहरुको भनाई थियो । कार्यक्रमको समापन गर्दै इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले पछाडि पारिएका वर्ग, समुदायको अधिकार सुनिश्चितताका लागि नागरिक संघसंस्थाहरु प्रतिवद्ध भई लाग्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा अधिकारकर्मी, सञ्चारकर्मी, नागरिक संघसंस्थाका प्रतिनिधि र मानव अधिकार रक्षकहरु गरी ३० जनाको सहभागिता रहेको थियो ।

दुर्गा थापा