महिला माथि हुने हिंसाविरुद्ध स्थानीय सरकार र महिलाबीच सम्वाद कार्यक्रम सम्पन्न
मकवानपुर । २०७८ पुस १२ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौँडाको आयोजनामा पुस १२ गते मनहरी गाउँपालिका स्तरिय मानव अधिकार र महिलामाथि हुने हिंसासम्बन्धी स्थानीय सरकार र महिलाबीच सम्वाद कार्यक्रम सम्पन्न भएको छ । इन्सेकले सञ्चालन गरेको ‘आर्थिक तथा सामाजिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम’ (रिन्यु परियोजना) अन्तर्गत महिलामाथि हुने हिंसाविरुद्ध स्थानीय सरकारले गरेका कामको त्रैमासिक समीक्षा समेत कार्यक्रममा गरिएको थियो । यसैगरी कार्यक्रममा स्थानीय महिला समूहमा आवद्ध महिला तथा स्थानीय सरकारबीच महिला माथि हुने हिंसा न्यूनिकरण तथा हिंसामा परेका महिलाहरूलाई स्थानीय सरकारले संरक्षणका लागि गर्दै आइरहेका प्रयास एवम् नीतिगत व्यवस्थाको बारेमा छलफल तथा बहस भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मनहारी गाउँपालिका उपाध्यक्ष मनिला विष्टले मनहरी गाउँपालिकालाई महिला मैत्री बनाउनुपर्छ पालिका अगाडि बढेको बताउनुभयो । सबै प्रकारका लैङ्गिक हिंसाविरुद्धको अभियान जारी रहे पनि अन्तत्वगत्व महिला र बालबालिका क्षेत्रनै सबै भन्दा बढी प्रभावित हुने गरेको उहाँले बताउनुभयो । उहाँले महिला हिंसा न्यूनिकरणका लागि महिलाहरूलाई आत्मनिर्भर बनाउन गाउँपालिकाले पछिल्लो समयमा सिपमूलक तालिमको सँगसँगै प्रविधिको समेत सहयोग गर्दै आइरहेको बताउनुभयो । गाउँपालिकाले बालिका सुरक्षा कार्यक्रम, हिंसा पीडित महिलालाई न्यायिक समितिबाटै मेलमिलाप गराएर मिलाएर पठाएको र पछि त्यस्ता केशहरूको फ्लोअप गर्दा अधिकांशको सुधार भएको उहाँले स्मरण गर्नु भयो । उपाध्यक्ष विष्टले महिला तथा बालबालिका न्यायिक कोष खडा गरी अप्ठेरोमा परेका महिलाहरूलाई उद्धार तथा राहत प्रदान गर्दै आईरहेको बताउनुभयो । उहाँले जबसम्म कुनै पनि महिला आँफैमा आर्थिक रूपमा सक्षम हुँदैन तबसम्म हिंसाको क्रम चलिरहन्छ भन्दै अब सबै महिलाहरू उत्पादनमा लाग्नुपर्ने बताउनुभयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले गाउँगाउँमा लुकेर दबाएर राखिएका हिंसा पीडित महिलाहरूलाई महिला समूहमार्फत् बाहिर ल्याउनु पर्ने र आवश्यक परे कानुनी कारबाहीको प्रकृयामा लान सहयोग पुर्याउन आग्रह गर्नु भयो । भण्डारीले महिला हिंसा न्यूनिकरण तथा अन्त्यको लागि महिलाहरूलाई सचेतना जगाउँदै महिला समूह निर्माण गरी महिलाहरूलाई सचेत बनाई सभ्य र हिंसारहित समाज बनाउने तर्फ निरन्तर लागि पारिरहेको र आगामी दिनहरूमा पनि निरन्तर लागि पारिरहने बताउनुभयो । जबसम्म हिंसाका घटना घर भित्रै लुक्छन् र दबाइन्छ तबसम्ब यस्ता घटना भइरहन्छन् तसर्थ घरबाट हिंसाका घटना बाहिर आउने भएपछि सामाजिक दायित्व र लाजले पनि स्वतह कम हुँदै जाने उहाँको धरणा थियो । इलाका प्रहरी कार्यालय मनहरीका सई विदुरचन्द्र अधिकारीले मध्यपानले महिला हिंसा भएका ठाडो उजुरी आउने र दुईचार दिन थुनामा राख्नु पर्ने पीडितको माग हुने गरेको बताउनु भयो । उहाँले त्यसरी प्रकृयागत रूपमा नआएका घटनाका आरोपितलाई थुनामा राख्न नमिल्ने भएकोले दुवै पक्षाबीच छलफल गराई आइन्दा हिंसा नगर्ने सहमतिमा पठाउने गरेको बताउनु भयो ।
गाँउपालिकाका सामाजिक विकास शाखा प्रमुख राजेन्द्र चौलागाईले हिंसा पीडित महिला तथा बालबालिकाको लागि नीति नै बनाएर कार्यक्रम राखिएको बताउनु भयो । कार्यक्रममा सहभागीहरूले बहुविवाहको केशमा केश दर्ताको समयवधी, महिला हिंसा हुँदैगर्दा पीडित महिलाहरूलाई आर्थिक तथा कानुनी सहायतताको अभावको कारणले गर्दा बाहिर खुलेर आउन नसक्नु, महिला समूहमा आवद्धता भएपछि महिला हिंसामा आएको कमी जस्ता विषय राख्नु भएको थियो । कार्यक्रममा उठेका सवालहरूको जवाफ दिनुहुँदै सामाजिक विकास शाखा प्रमुख चौलागाईले मनहरी गाउँपालिकालाई समग्रमा लैङ्गिक हिंसा मुक्त समाज बनाउनतर्फ पालिका अगाडि बढेको बताउनुभयो । कार्यक्रमको सभाध्यक्ष गरिरहनु भएकी मानव अधिकार समूह मनहरीका संयोजक विमला गोपालीले समूह मार्फत् महिलाको सशक्तिकरण र हिंसा न्यूनिकरणका लागि काम भइरहेको बताउनु भयो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा