महिला हिंसाविरुद्ध १६ दिने अभियान कार्यक्रम सम्पन्न

स्याङ्जा । २०७७ मङ्सिर २० गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र फेदिखोला गाउँपालिका–३ प्रगतिशील बचत तथा ऋण सहकारी संस्था भाटखोलाको संयुक्त आयोजनामा मङ्सिर १८ गते महिला हिंसाविरुद्ध १६ दिने अभियान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा फेदिखोला गाउँपालिकाका उपाध्यक्ष  देवी थापाले घरेलु हिंसा कसुर  सजाय ऐन २०६६ र फेदिखोला गाउँपालिकाको लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधिका बारेमा उपस्थित सहभागीहरुलाई जानकारी दिनुभएको थियो । गाउँपालिकाले सञ्चालन गरेको कोषबाट हिंसामा परेकी महिलालाई सहयोग गरिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘हिंसा पीडितले निवेदन वा सहयोगको सिफारिस ल्याउनुभयो भने उहाँलाई परामर्श वा केही गर्नको लागि २० हजार रुपियाँ बराबरको सहयोग पनि गर्ने गरिएको छ ।’  कार्यक्रममा फेदिखोला गाउँपालिकाको मानव अधिकार निगरानी समुहकी सदस्य गीता शर्माले पनि लैङ्गिक हिंसा न्यूनीकरण र महिला सशक्तिकरणका लागि उद्यमशिलता आवश्यक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो –‘ हिंसा न्यूनीकरण गर्न, महिला सशक्तिकरण र सशक्तिकरणको लागि उद्यमशिलता आवश्यक छ ।’ कार्यक्रमको समापनमा बोल्दै फेदिखोला गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष कृष्णबहादुर रानाभाटले हिंसा न्यूनीकरणका लागि सबैलाई सचेत हुनुपर्ने कुरा बताउनुभयो । कार्यक्रममा २७ जनाको सहभागिता रहेको थियो ।

तिलकुमारी थापा