








रुकुम (पश्चिम) । २०७८ साउन १७ गते
महिलामाथि हुने हिंसा अन्त्यका लागि राज्य जिम्मेवार हुन सरोकारवालाहरूले आवाज उठाएका छन् । मुसिकोट खलङ्गामा इन्सेक लगायतका संस्थाहरूले साउन १६ गते आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरूले हिंसा अन्त्यका लागि आफूहरूले उठाएका कुराहरू राज्यले सम्बोधन गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएका छन् । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रूकुमका अध्यक्ष लक्ष्मण केसीले महिला हिंसाका घटनाहरू भइरहेको र त्यसलाई राजनीतिकरण हुन नदिए मात्र पनि हिंसा कम हुने बताउनुभयो । त्यस्तै जिल्ला बार इकाइका अध्यक्ष गणेश हमालले मानव अधिकार हनन्का जघन्य घटनाका पीडितले पनि न्याय पाउन नसकेको गुनासो गर्नुभयो । पीडकलाई राजनीतिक दलहरूले संरक्षण दिँदा घटनाहरू बढ्ने गरेको उहाँको भनाइ छ । त्यस्तै त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष निर्मला विष्टले स्थानीय तहमा न्याय सम्पादन गर्न समस्या भएको बताउनुभयो । आफूहरूलाई भोट हालेर जिताएका नागरिकहरूले छिटो छरितो न्याय सम्पादनको अपेक्षा गरेपनि आफूहरूसँग दक्ष जनशक्ति नहुने, कार्यविधि पनि लामो भएको र अन्य कार्यबोझको कारण सोचे अनुसार हुन नसकेको बताउनुभयो ।
सहभागीहरूले त्रिवेणी गाउँपालिका– ४ मा ०७८ साउन ११ गते भएको मनकला हत्यामा बालबालिका मात्र संलग्न नभई अरूको पनि संलग्नता भएको आशंका गर्दै अनुसन्धानमा कसैको दवाव र प्रभावमा नपर्न प्रहरीलाई आग्रह गरेका थिए । कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले यस्ता कार्यक्रमले हिंसा न्यूनीकरणमा टेवा पुग्ने र आफूहरूलाई जिम्मेवार बनाउन मद्दत पुग्ने बताउनुभयो । मनकला हत्या घटनाको अनुसन्धानमा कसैको दवावमा नपर्ने समेत उहाँले प्रतिवद्धता जनाउनुभयो । कार्यक्रमको आयोजना इन्सेक, हरप्लेस, अन्तरपार्टी महिला सञ्जाल, महिला मानवअधिकार रक्षक सञ्जाल, ओरेक नेपाल लगायतका संस्थाहरूले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा स्थानीय तहका उपप्रमुखहरू, मानव अधिकारकर्मी, कानुन व्यवसायी, सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । इन्सेक जिल्ला प्रतिनिधि मनिषा केसीद्वारा सहजिकरण गरिएको कार्यक्रमको अध्यक्षता अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष लुम्बिनी गौतमले गर्नुभएको थियो ।
मनिषा केसी