महिला हिंसा देश प्रगतिको बाधक : मेयर शर्मा
दैलेख । २०७९ मङ्सिर २४ गते
नारायण नगरपालिकाका मेयर लोमन शर्माले महिला माथि हुने हिंसाको अन्त्य नभएसम्म देशको प्रगति असम्भव रहेको बताउनुभएको छ । विश्व मानव अधिकार दिवस तथा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापन कार्यक्रमको अवसरमा दैलेखमा मङ्सिर २४ गते इन्सेसक लगायत सरोकारवालाहरुको संयुक्त आयोजनामा भएको कार्यक्रममा उहाँले महिला माथि थिचोमिचो नहटेको टिप्पणी गर्नु भयो । घरघरमा शान्ति, समृद्धिका लागि महिला माथि हुने सबै खाले विभेद उन्मूलन गर्न जरुरी छ, सरकारका प्रयासहरुलाई सफल बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको मेयर शर्माले प्रकाश पार्नुभयो ।
कार्यक्रममा दैलेखका प्रहरी इञ्चार्ज डीएसपी भुवनेश्वर साहले महिला माथि हुने हिंसा सरकारवादी मुद्दा भएकोले प्रहरी न्यायको लागि सधैं तत्पर रहेको बताउनुभयो । त्यस बखत सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको महिला तथा बालबालिका सेवा केन्द्रका कार्यक्रम संयोजक रमा श्रेष्ठले बिश्व मानव अधिकार दिवस र १६ दिने अभियान बारे प्रकाश पार्नुभएको थियो । नारायण नगरपालिकाको कोभिड १९ तथा लैंगिक हिंसा प्रतिकार्य कार्यक्रमका संयोजक प्रमिला आरसीको अध्यक्षतामा कार्यक्रम भएको थियो । त्यसबखत महिला माथि हुने घरेलु हिंसा र यसको सामाजिक प्रभाव विषयमा युवा अभियन्ताहरुको समूहले सडक नाटक प्रर्दशन गरेको थियो ।
अमर सुनार