








मकवानपुर । २०८० कात्तिक २४ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले श्री प्रजा जाग्रृति माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले ०८० कात्तिक २३ गते राक्सिराङ गाउँपालिका-५, चौनपुरमा नाटक प्रदर्शन गरेका छन् । उक्त नाटक प्रदर्शनमा समाजमा देखिएको बालविवाह, दाइजो प्रथा र महिला हिंसा जस्ता विकृतिहरू विरुद्ध बाल अधिकार समूहका बालबालिकाहरूले नाटक प्रस्तुत गरेका थिए । प्रस्तुत नाटकले सामाजिक कुसंसकारलाई दार्साउनुका साथै तिनले मानव जीवनमा पार्ने प्रभावहरूलाई समेत स्थानीय दर्शकहरूमाझ प्रस्तुत गरेका थिए ।
स्थानीय तहमा महिला हिंसा, मानव बेचबिखन जस्ता घटनालाई न्यूनीकरण गर्न सबै ग्रामीण क्षेत्रमा पनि उच्च निगरानी राख्नु पर्ने मानव अधिकार समूहका संयोजक चन्द्रमान प्रजाले बताउनुभयो । उहाँले समाजमा शिक्षा र जनचेतनाको कमी भएकै कारण दिनप्रतिदिन बालविवाह र महिला हिंसाका घटनाहरू बढिरहेकोले उक्त घटनाहरूलाई न्यूनीकरण गर्न यस्ता खालका सचेतनामूलक कार्यक्रमहरू गर्न जरुरी भएको बताउनु भयो । नाटक प्रदर्शनमा बोल्दै श्री प्रजा जाग्रृति माध्यमिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद सापकोटाले इन्सेकले आयोजना गरेको नाटकबाट बालबालिकाहरूले आफ्नो प्रतिभा बढाउनुका साथै समाजमा सबैलाई जनचेतना जगाउने काम गरेको बताउनु भयो । कार्यक्रमको सहजिकरण इन्सेक मकवानपुर सहजकर्ता सलिना गौतमले गर्नुभएको थियो ।
पुष्पराज अधिकारी