महेन्द्र मावि ढल्केवरमा बाल अधिकार समुह गठन

धनुषा । २०७९ असोज १३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा असोज १२ गते मिथिला नगरपालिका–६ स्थित श्री महेन्द्र मावि ढल्केवरमा हरिचन्द्र कुमार साहको अध्यक्षतामा २५ सदस्यीय बाल अधिकार चेतना समूह गठन गरिएको छ । बालबालिकाहरूको विद्यालयस्तरदेखि नै आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकारको सचेतना र अधिकारको वकालत गर्न सक्षम बनाउन बाल अधिकार समूहको गठन गरिएको इन्सेक मधेस प्रदेशका कार्यक्रम फोकल पर्सन बरुण बस्यालले बताउनु भयो । समूह गठन कार्यक्रममा महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकुमार महतोले मानव अधिकारको सवालमा हामीहरुले एक अर्कालाई कुरा बुझाउँदै कुनै पनि व्यक्ति, समुदाय र व्यक्ति मानव अधिकारको क्षेत्रबाट बञ्चित हुन नहुने बताउनु भयो । हामीले शिक्षा, स्वास्थ्य, खाद्य, आवास, वातावरण संरक्षणलगायतको सवालमा सचेत रहदै अर्कालाई असर हुने गरी कार्य गर्न नहुनेमा उहाँले जोड दिनु भयो । इन्सेक धनुषा जिल्ला प्रतिनिधि दिपेन्द्र प्रसाद सिंहले बाल अधिकार सेचतना समुहका पदाधिकारीहरुले विद्यालय भित्र र समुदायमा मानव अधिकारको सवालमा कार्य गर्दै जनहित र सामाजिक न्यायका निम्ति अग्रसरता देखाउन आग्रह गर्नु भयो ।

  

मिथिला नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नन्दकिशोर यादवले हामीले कुनै पनि काम गर्दा मानव अधिकारको हनन् त भएन भन्ने सर्तकता देखाउँदै कार्य गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले समुहको कार्यमा सहयोग गर्न वडाबाट हुने साथ र सहयोगका लागि अग्रसर रहने प्रतिवद्र्धता जाहेर गर्नु भयो । गठित समुहको उपाध्यक्षमा भुमिका सिंह, महासचिवमा सिता सिंह, सचिवमा उज्जवल साह, सह सचिवमा आनन्द कुमार महतो चयन भएका छन् । सदस्यहरूमा प्रभाकर यादव, अनिष महतो, ब्रह्मदेव सिंह, कृष्णा कुमार सिंह, अमर साह, सन्जु कुमारी महतो, संगिता कुमारी महतो, अर्चना कुमारी महतो, आरती कुमारी महतो, लक्ष्मी ठाकुर, रिरसी शर्मा, लक्ष्मी प्रसाद यादव र अनिष श्रेष्ठ लगायतको रहेका छन् । कार्यक्रममा मिथिला नगरपालिका वडा नं. ६ का वडा सदस्य मिना पंजियारले बालबालिकाहरूको अधिकार सुनिश्चितताका लागि बाल अधिकार समूह गठन स्वागत योग्य भएको बताउनु भयो । समाजमा हुने बिकृति, बिसंगती र कुरितीलाई न्यूनिकरण गर्न बाल अधिकार समूहको अहम भूमिका हुने बताउँदै विद्यालय र घरदेखि समाजसम्म बालबालिकाहरूको अभियान सञ्चालन हुन जरुरी भएको उहाँले बताउनु भयो ।

दिपेन्द्रप्रसाद सिंह