महोत्तरीको गौशाला नगरपालिकामा इएलपी परियोजनाको अनुगमन

महोत्तरी । २०७८ माघ २५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालय जनकपुरद्वारा महोत्तरीको गौशाला नगरपालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको अवस्थाबारे माघ २४ गते अनुगमन गरेको छ । इन्सेकद्वारा सञ्चालित इएलपी परियोजना लागु भएको तेश्रो वर्षमा कार्यक्रमको प्रभावकारिता, नगरपालिका र मानव अधिकार समूहबिचको समन्वयको अवस्थाबारे अनुगमन गरिएको हो । अनुगमनको क्रममा मानव अधिकार निगरानी समूहले तीन वर्षदेखि हालसम्म गरेका क्रियाकलाप, प्रगति विवरण, स्थानीय निकायसँगको समन्वय र सहकार्यकाबारेमा छलफल गरी प्रतिक्रियाहरू लिइएको थियो । छलफलको क्रममा नगरप्रमुख शिवनाथ महतोले मानव अधिकार निगरानी समूहद्वारा गौशाला नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासका क्षेत्रमा गर्दै आएका कामहरूको प्रशंसा गर्दै परियोजनाको अवधि सकिए पनि नगरपालिकामा नै हेल्पडेस्क स्थापना गरी मानव अधिकार समूहलाई मानव अधिकारको सुरक्षार्थ निरन्तरता दिन सकिने बताउनु भयो ।

नागरिकहरूलाई मानव अधिकारको प्रत्याभूति दिलाउन गौशाला नगरपालिकाले सदैव सहयोग गर्ने उहाँको प्रतिबद्धता छ । बाल पोषण भत्ता, सामाजिक सुरक्षा भत्ता, अपाङ्गता भएका व्यक्तिलाई भत्ता वितरणमा ढिलासुस्ती भएको भन्ने सदस्यहरूको प्रश्नमा उपप्रमुख आशा लामाले बैङ्क र वडा कार्यालय दुवैलाई राखी छलफल पश्चात सबै समस्या हल भइसकेको र अब छिट्टै सहज रुपमा वितरण हुने जानकारी दिनु भयो । गौशाला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रगाढ महतोले नागरिकहरूको स्वास्थ्य अधिकारको संरक्षणका लागि आफ्ना सेवालाई १२ ओटा स्वास्थ्य संस्थाहरूबाट नियमित रुपमा प्रदान गर्दै आएको र आगामी दिनमा सेवाहरूलाई थप गुणस्तरीय बनाउन प्रतिबद्ध रहेको जानकारी गराउनु भयो । इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवानले नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको क्षेत्रमा यस परियोजनाले थोरै भएपनि सहयोग पुगेको बताउनु भयो । मानव अधिकार समूहका अध्यक्ष विन्देश्वर साहले मानव अधिकारको संरक्षणका लागि आफूहरूको तर्फबाट पहल र प्रयास जारी रहने बताउनु भयो ।

अजयकुमार साह