माछापुच्छ्रेमा बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
कास्की । २०७९ असोज ३१ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यलयको आयोजनामा असोज ३० र ३१ गते माछापुच्छ्रे गाउँपालिकामा मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले भविष्यका कर्णधारका रुपमा रहेका बालबालिकालाई अहिलेदेखि नै सक्षम बनाउनु पर्ने बताउनु भयो । बालबालिकालाई अधिकारसँगै कर्तव्यबोध पनि गराउन आवश्यक रहेको उहाँको भनाई थियो । बालबालिका क्षमता अभिवृद्धि र विकासका लागि गाउँपालिका सहकार्य गर्न तयार रहेको बताउँदै उहाँले अन्य विद्यालयमा पनि बाल अधिकार समूह गठन गरी कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नु भयो । गाउँपालिका शिक्षा शाखा प्रमुख सम्झना पोखरेलले तालिमबाट सिकेका कुराहरू व्यवहारमा लागु गर्न बालबालिकालाई आग्रह गर्नु भयो । बाल अधिकार उल्लङ्घनका घटनालाई कमी ल्याउन तालिमले भुमिका खेल्ने विश्वास व्यक्त गर्दै उहाँले बालबालिकाको अधिकार सुनिश्चित गराउनका लागि गाउँपालिका सदैव तयार गरेको बताउनु भयो ।
शुक्लागण्डकी मावि बाल अधिकार समूह संरक्षक शिक्षक अञ्जना पौडेलले तालिमले बालबालिका मात्र नभई आपूmहरूमा पनि बाल अधिकार सचेतनामा अभिवृद्धिमा भुमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी संयोजक शिव खकुरेलले स्थानीय सरकार र नागरिक सङ्घसंस्थाको समन्वयमा गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउन कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । तालिमको उद्धेश्य, इन्सेक अभियान र बाल अधिकारका विषयमा इन्सेक गण्डकी प्रदेश कार्यलय कार्यक्रम संयोजक शवनम शर्माले सहजीकरण गर्नुभएको थियो । बाल अधिकार र बाल संरक्षणका विषयमा इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले सहजीकरण गर्नुभएको थियो । तालिममा प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारी सामाजिक शाखा प्रमुख रिता थापा लगायतले सहजिकरण गर्नुभएको थियो ।
सुशन घिमिरे