माछापुच्छ्रेलाई बालमैत्री गाउँपालिका बनाउने प्रतिबद्धता
कास्की । २०७९ असार १ गते
कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकाका जनप्रतिनिधिहरूले बालमैत्री गाउँपालिका बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सामाजिक विकास कार्यालय कास्की र माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा बालमैत्री स्थानीय शासन प्रवर्धन कार्यक्रमसम्बन्धी अभिमुखीकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङ, उपाध्यक्ष सिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत विष्णु पोखरेललगायतले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरी ५१ ओटा सूचक पुरा गर्दै २०८२ असार मसान्तसम्म बालमैत्री गाउँपालिका घोषणा गरिसक्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले प्रतिबद्धता अनुसारको काम गरेर देखाउने बताउनु भयो । उहाँले गाउँ कार्यपालिकाको बैठकमा छलफल गरी सरोकारवालाहरूसँग समन्वय गरेर बालमैत्री गाउँपालिका घोषणा गरिने बताउनु भयो । गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले घर, टोल र समाजसँगै स्थानीय तहलाई बालमैत्री बनाउनका लागि प्रतिबद्ध रहेको बताउनु भयो ।


प्रमुख प्रशासकीय अधिकृत विष्णु पोखरेल बालमैत्री स्थानीय तहमा नतिजा देखाउने गरी सूचकलाई कार्यन्वयनमा लैजाने गरी लाग्ने बताउनु भयो । राज्यले गरेको व्यवस्थालाई कार्यन्वयनका लागि पहिला अवस्थालाई मुल्याङ्कन गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । बालमैत्री स्थानीय तह बनाउनका लागि आवश्यक नीति कार्यक्रम र बजेटको व्यवस्थापनका गरिने उहाँले बताउनु भयो । वडा नम्बर–३ का अध्यक्ष हरिश्चन्द्र लम्सालले बालमैत्री स्थानीय तह निर्माणका लागि बालबालिकाका अधिकार सुनिश्चित गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नु भयो । सामाजिक विकास कार्यलयका कार्यकारी प्रमुख इन्द्रबहादुर थापाले भनाइ र गराइ फरक हुने भएकाले नीति नियम र अधिकारलाई कार्यन्वयन तहमा लैजाले गरी जनप्रतिनिधिहरू लाग्न आवश्यक रहेको बताउनु भयो । इन्सेक गण्डकी संयोजक शिव खकुरेलले बाल अधिकारको संरक्षण प्रवर्धन गर्ने दायित्व नेपाल सरकारको भएको बताउनु भयो । उहाँले स्थानीय तहले बालबालिकाको अधिकार र कर्तव्यप्रति सुसूचित गराउँदै सहभागिता गराउन भुमिका खेल्नुपर्ने बताउनु भयो । नीति तथा कार्यक्रमको तयारी भइरहेको सन्दर्भमा स्थानीय सरकारले बालमैत्री स्थानीय शासन निर्माणका लागि कस्ताकस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्छ भन्ने बारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी दिनु भयो । कार्यक्रममा गण्डकी प्रदेश बाल समन्वय अधिकृत बद्री वाग्लेले बालमैत्री स्थानीय शासनका सूचक, बाल अधिकारको संरक्षण, विकास र स्थानीय तहको भुमिकाबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।
सुशन घिमिरे
HUMAN RIGHTS NEWS PORTAL






