माछापुच्छ्रे गाउँपालिकामा मानवअधिकार समूहको बैठक सम्पन्न
कास्की । २०८१ जेठ १ गते
माछापुच्छ्रे गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानवअधिकार समूहको बैठक ०८१ वैशाख २९ गते सम्पन्न भएको छ । समूहका अध्यक्ष डिल्लीराम भण्डारीको अध्यक्षता एवं इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिव प्रसाद खकुरेलको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो । बैठकमा मानवअधिकार समूहलाई गाउँपालिकामा दर्ता गर्न पेश गरिएको कागजातहरुको बारेमा फलोअप निरन्तर गर्ने, समूहका कार्य उपलब्धिका बारेमा सफलताको कथा बनाउने र पुनः अनुगमनमा गई समस्या पहिचानका लागि छुट्टा छुट्टै चार ओटा क्षेत्रमा संयोजक तोकी समयमा रिपोटिङ्ग गर्ने भनि निर्णय गरिएको छ ।
शिक्षा क्षेत्रमा कुल प्रसाद अधिकारीलाई संयोजक तोकिएको छ । स्वास्थ्य क्षेत्रमा प्रेमकुमारी अधिकारी, वातावरणमा दिलु पन्त र जातीय विभेदको क्षेत्रमा सुनिता परियारलाई संयोजकको जिम्मेवारी बैठकले प्रदान गरेको छ । बैठकले यस आर्थिक वर्षमा सफलता प्राप्त गरेका कार्यक्रमहरुलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता गर्नको लागि गाउँपालिकामा बजेट सहितको कार्यक्रमको माग गर्ने निर्णय सर्वसम्मतले पास गरेको छ । बैठकमा कार्यक्रम अधिकृत सबनम शर्मा र सहजकर्ता शुष्मा आचार्यले सहजीकरण गर्नु भएको थियो । बैठकमा मानवअधिकार समूहको सदस्यहरु सुनिता परियार, कुल प्रसाद अधिकारी, दिलु पुन, देवी अधिकारी, केशु गुरुङ्ग, शोभामोहन लम्साल, बलराम पौडेलका साथै वडा स्तरको मानवअधिकार समूहको सदस्यहरु समेतको उपस्थिती रहेको थियो ।
इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा