मादी गाउँपालिकामा मानव अधिकार समूह गठन

कास्की । २०७९ असोज ४ गते

इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा आयोजनामा असोज २ गते मादी गाउँपलिकामा मानव अधिकार समूह गठन गरिएको छ । इन्सेकले मादी गाउँपालिकामा सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत सपना परियारको अध्यक्षतामा ११ सदस्यीय समूह गठन गरिएको सहजकर्ता सुष्मा आचार्यले जानकारी दिनु भयो । समूहको उपाध्यक्षमा चन्द्रबहादुर गुरुङ, सचिव रुद्रनाथ अधिकारी, कोषाध्यक्ष कविता परियार, सदस्यमा ऋषिराम सापकोटा, रञ्जु विश्वकर्मा, बलराम परियार, सुस्मिता परियार, चुडामणी बराल, डोमबहादुर गुरुङ र राजकुमार विश्वकर्मा रहनु भएको छ । कार्यक्रममा मादी गाउँपालिकाका प्रमुख देविजङ्ग गुरुङले मानव अधिकार उल्लङ्घनका घटना हुन नदिनका लागि समूह र गाउँपालिकाले सक्रिय भुमिका निभाउनुपर्ने बताउनु भयो ।

उहाँले गाउँपालिका मानव अधिकारको संरक्षण र संबर्द्धनका लागि समूहलाई आवश्यक सहयोगका लागि तयार रहेको भनाई राख्नु भयो । गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङले संविधानमा उल्लेख मौलिक हकलाई कार्यन्वयन गर्न सकेमा मात्रै पनि मानव अधिकार सुनिश्चित हुने बताउनु भयो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोपिकृष्ण आर्यालले मानव अधिकार उल्लङ्घनका घटना न्युनिकरण गर्नका लागि सरकार एक्लै मात्रै सम्भव नभएको भन्दै इन्सेक, मानव अधिकार समूहको भुमिका महत्वपूर्ण रहने बताउनु भयो । उहाँले गाउँपालिका मानव अधिकारमैत्री स्थानीय तह बनाउनका लागि आफूहरू प्रतिबद्ध रहेको बताउनु भयो । कार्यक्रममा मादी गाउँपालिकाका १२ ओटै वडाका अध्यक्ष, विषयगत शाखा प्रमुख, सुरक्षा निकायका प्रमुख ,राजनीतिक दलका प्रतिनिधिहरू सहभागी रहनुभएको थियो ।

सुशन घिमिरे