मादी गाउँपालिकालाई बालमैत्री बनाउन प्रतिबद्धता

कास्की । २०७९ असार ६ गते

मादी गाउँपालिका जनप्रतिनिधिले २०८२ असारसम्म बालमैत्री गाउँपालिका बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी र सामाजिक विकास कार्यालय कास्कीको आयोजनामा असार ४ गते भएको अभिमुखिकरणमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । गाउँपालिका अध्यक्ष देविजङ्ग गुरुङले बालमैत्री स्थानीय तह निर्माणमा प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले बालबालिकाको सहभागिता र विकासका लागि योजनाहरु तयार गर्ने तथा सरोकारवालासँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनु भयो । गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङले बालबालिका देशको भविष्य रहेकाले उनिहरुको संरक्षण र सम्बर्द्धनमा स्थानीय सरकार, समाज र परिवारको भुमिका महत्त्वपूर्ण रहने बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बालबालिकालाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले गाउँपालिकालाई बाल अधिकार र मानव अधिकारमैत्री बनाउने गरी कार्ययोजना निर्माणसँगै प्रभावकारी कार्यन्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । सामाजिक विकास कार्यलयका प्रमुख इन्द्रबहादुर थापाले सामाजिक विकास कार्यलयले आगामी दिनमा स्थानीय सरकार र सरोकारवालासँग समन्वय गर्दै अगाडि बढ्ने बताउनु भयो । स्वास्थ्य चौकीदेखि विद्यालयहरुमा स्थानीय सरकारले प्रभावकारी रुपमा काम गर्न सकेमा बालमैत्री स्थानीय तह निर्माणमा सहज बन्ने उहाँको भनाइ थियो । शिक्षक रुद्र रानाभाटले बालमैत्री स्थानीय शासन निर्माणका लागि विद्यालयको भुमिका महत्वपूर्ण रहने बताउनु भयो । वडा सदस्यहरुमार्फत बालबालिकाको अवस्थाबारे जानकारी लिने गरी कार्यविभाजन गर्न सकेमा बालबालिकाहरुको समस्या सुनुवाइ गर्न सहज हुने उहाँको भनाइ थियो। कार्यक्रममा इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले गाउँपालिकालाई बालमैत्री र मानव अधिकारमैत्री बनाउन इन्सेक गाउँपालिकासँग सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको बताउनु भयो । कार्यक्रममा बाल हितकारी पारियोजना कास्कीका संयोजक केशव पौडेलले बालमैत्री स्थानीय शासन प्रवर्धन अभिमुखिकरणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै नीति योजना निर्माण तथा भौतिक संरचना बनाउँदा बालबालिकाहरुको अधिकार र आवाजलाई पनि समेटनुपर्ने बताउनु भयो ।

सुशन घिमिरे