मानव अधिकारकर्मीको सुरक्षा र संरक्षणमा राज्यको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
पाल्पा । २०७८ वैशाख ७ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम वैशाख ६ गते तानसेनमा सम्पन्न गरिएको छ । कार्यक्रमका वक्ताहरूले नागरिक अधिकारका पक्षमा अग्रङ्क्तिमा रहने मानव अधिकार रक्षकहरूको संरक्षण राज्यले गर्नुपर्नेमा जोड दिए । नागरिक अधिकारका लागि पैरवी गर्ने अधिकारकर्मीहरूको सुरक्षा र संरक्षणका लागि राज्यका निकाय गम्भीर भएर लाग्नुपर्ने सरोकारवालाहरूको भनाई थियो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सनाले गृहमन्त्रालयले हालै जारी गरेको मानव अधिकार रक्षकहरूको सुरक्षासम्बन्धी आदेशको विषयमा छलफल गर्नका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले पाल्पा जिल्लाका मानव अधिकारका सवालमा गर्नुपर्ने सहयोगका लागि प्रतिबद्ध रहेको र समस्याहरूमा समाधानको लागि मानव अधिकारकर्मीहरूसित सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।
उहाँले हालै गृहमन्त्रालयले जारी गरेको मानव अधिकार रक्षकहरूको सुरक्षासम्बन्धी आदेशले धेरै कुरा बोलेको भन्दै यसको पालना गर्ने कुरामा स्थानीय प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईले नेपाल प्रहरी मानव अधिकारकर्मीको सुरक्षा र मानव अधिकार रक्षाका लागि सदैव प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले मानव अधिकारकर्मीहरू र प्रहरी सँगै भएर मानव अधिकार रक्षाका लागि लागिपर्नुपर्नेमा जोड दिनुभयो ।
सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख लक्ष्मणप्रसाद ज्ञवालीले डिभिजनमार्फत मानव अधिकार र विभिन्न सामाजिक विषयमा रचनात्मक कार्यक्रम हुँदै आएको र यसमा मानव अधिकारकर्मीहरूसित थप सहकार्य गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । मानव अधिकार रक्षक सञ्जाल पाल्पाका संयोजक भगवान भण्डारीले जिल्लामा सञ्जालमार्फत हुँदै आएका रचनात्मक कार्यक्रम र प्रभावहरूबारे जानकारी गराउनुभएको थियो । उहाँले मानव अधिकार संरक्षण र सम्बद्र्धनमा सञ्जालले जिल्लामा अग्रणी भुमिका निर्वाह गर्दै आएको समेत बताउनुभयो ।
यज्ञमूर्ति तिमिल्सिना