मानव अधिकारका विषयलाई नियमित रूपमा आवाज उठाउनु आवस्यक

नुवाकोट । २०७७ मङ्सिर १० गते

 

मानव अधिकारका विषयलाई नागरिक समाज तथा सञ्चारकर्मीहरूले नियमित रूपमा आवाज उठाउन आवस्यक रहेको इन्सेक केन्द्रीय कार्यलयका मानव अधिकार प्रलेख तथा पैरबी विभाग प्रमुख श्रीराम बजगाईँले बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा जिल्लामा मानव अधिकार अवस्थाको बारेमा नागरिक समाज तथा सञ्चारकर्मीको भूमिका विषयमा मङ्सिर ९ गते विदुरमा भएको छलफलमा बजगाईँले सो कुरा बताउनु भएको हो । पीडित, समाज र सरकार एकजुट भएको खण्डमा अन्यायमा परेकालाई न्याय दिलाउन सहज हुने समेत बजगाईँले उल्लेख गर्नु भयो । साथै, कोभिड–१९ महामारीका कारण मानव अधिकारका सामान्य विषयहरू समेत ओझेलमा परेको उक्त कार्यक्रमका सहभागीहरूले बताएका छन् । कार्यक्रममा विदुर नगरपालिकाका प्रवक्ता तथा वडा नं. ४ का वडाअध्यक्ष टकलमान श्रेष्ठले जहाँ द्वन्द्व र विवाद हुन्छ त्यहाँ मानव अधिकार उल्लङ्घनका घटना हुने गरेको बताउनुभयो । उहाँले दश वर्षे सशस्त्र द्वन्द्वका समय अन्यायमा परेका नागरिकलाई प्रयाप्त प्रमाणको आधारमा न्याय दिलाउन नसकेको गुनासो वडा अध्यक्ष श्रेष्ठले गर्नुभएको छ ।

वडाअध्यक्ष श्रेष्ठले मानव अधिकार अन्तहीन यात्रा भएकोले क्रमशः अधिकारहरूलाई स्थापित गराउँदै लैजानेक्रममा स्थानीय सरकार रहेको बताउनुभयो । ‘नागरिकका अधिकारहरूलाई एकैचोटी स्थापित गराउन स्रोत साधनको अभाव हुनसक्छ । तर, विस्तारै बढाउँदै भने लैजान सकिन्छ’ वडाअध्यक्ष श्रेष्ठले भन्नुभयो । साथै देश सङ्घीयतामा गएपछि नीति तथा कार्यक्रम, बजेट र सवालहरू बदलिएको र मानव अधिकार उल्लङ्घनका घटनामा समेत कमी आएको वडा अध्यक्ष श्रेष्ठको भनाई रहेको छ । गैसस महासङ्घ बागमती प्रदेश समितिका सदस्य देवकी पौडेलले द्वन्द्व सकिएको लामो समय हुँदा पनि पीडितहरूले अझै न्याय नपाएको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष कपिलदेव खनालले वर्ष पुस्तकलाई अझै प्रभावकारी बनाउन र विवतरणको क्षेत्र बढाउन समेत आग्रह गर्नुभयो । अध्यक्ष खनालले मानव अधिकारको जानकारी दिने रेडियो कार्यक्रमलाई जिल्लाका स्थानीय एफएम रेडियोहरूमा निशुल्क प्रसारण गराउन समेत पहल गर्ने बताउनुभयो । इन्सेकले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना समेटेर हरेक वर्ष नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ भने मानव अधिकार शिक्षा तथा प्रवर्धन र सम्बर्धनका लागि पैरबी कार्यक्रम पनि चलाउँदै आएको छ ।

नवदीप श्रेष्ठ