मानव अधिकारका सवाललाई नीति तथा कार्यक्रममा समेटने प्रमुख : शाही

दैलेख । ०७९ पुस २७ गते

मानव अधिकारकासवाललाई नीति तथा कार्यक्रममा समेटने चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेशबहादुर शाहीले प्रतिवद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयद्धारा ०७९ पुस २७ गते चामुण्डाविन्द्रासैनीमा मानव अधिकार समूह र स्थानीय सरोकारवालाहरुका लागि आयोजित दुई दिने क्षमता अभिवृद्धि कार्यशालाको उद्घाटन सत्रमा नगर प्रमुख गणेशबहादुर शाहीले पालिकाको वातवारण संरक्षण, शिक्षा, स्वास्थ्य र विभेद विरुद्धको अधिकारका सवालमा उक्त प्रतिवद्धता जनाउनु भएको हो । कार्यशालाको उद्घाटन सत्रमा नगर उपप्रमुख मनसरा कुमारी शर्माले कार्यशालामा सिकेका सिकाईलाई व्यवहारमा परिणतगर्ने आश्वासन दिनु भएको छ । समुदायमा रहेका मानव अधिकारका आधारभूत सवालमा इन्सेकसँग सहकार्य गरी कार्यगर्ने नगर उपप्रमुख शर्माले प्रतिवद्धता जनाउनु भएको छ । इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले समुदायमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षणका सवाल, विभेद विरुद्धको अधिकार लगायतका सवालमा सेवाग्राही र सेवाप्रदायक निकायबीच देखिएका समस्यामा सहजीकरणगर्ने गरी मानव अधिकार शिक्षा कार्यक्रम संचालन गरिएको बताउनु भयो । स्थानीय समुदायलाई सचेत बनाउदै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षणका सवालमा मागदावी गर्ने बनाउने कार्यक्रमको मुख्य उदेश्य रहेको संयोजक सुवेदीले बताउनु भयो ।

     दै

चामुण्डाविन्द्रासैनीमा पुस २७ र २८ गतेसम्म संचालनहुने कार्यशालामा इन्सेक अभियान, मानव अधिकारको अवधारणा, मौलिकहक र न्यायिक समितिको काम, कर्तव्य र अधिकार, लैंगिक हिंसा र जातीय विभेद, वातावरण संरक्षणमा मानव अधिकार समूह र सरोकारवालाको भूमिका, मानव अधिकार शिक्षा कार्यक्रमको संक्षिप्त परिचय, नेतृत्व विकास, मानव अधिकार समूहको भूमिका र आचारसंहिता, समस्या पहिचान र कार्ययोजना निर्माणलगायतका विषयमा इन्सेक प्रदेश संयोजक नारायण सुवेदी, कर्णाली प्रदेश सरकारका पूर्व मुख्य न्यायाधिवक्ता अधिवक्ता मातृका प्रसाद खनाल, जनज्योति मावि वड्डीचौरका प्रद्यानाध्यापक नारायण सिग्देल, कार्यक्रम फोकल पर्सन दुर्गा थापा लगायतले सहजीकरण गर्नु हुनेछ । कार्यक्रममा नगरपालिकाका उपप्रमुख, न्यायिक समितिका सदस्य, मानव अधिकार समूहका सदस्य, शिक्षा, स्वास्थ्य, महिला शाखा र कृषि शाखाका प्रमुख तथा प्रतिनिधि, प्रहरी कार्यालयका प्रतिनिधि समेत ३५ जना सहभागी रहेका छन् ।

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत