








कञ्चनपुर । २०७८ पुस १३ गते
औपचारिक क्षेत्र सेवा केन्द्र, (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकारको अवस्थासम्बन्धी संञ्चारकर्मीसँग समन्वय बैठक पुस १२ गते महेन्द्रनगरमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खड्कराज जोशीले मानव अधिकारको सम्बद्र्धन र प्रवर्धनका लागि अग्रपङ्क्तीमा काम गर्दै आउनु भएका सञ्चारकर्मी तथा पत्रकारहरुले भोग्दै आउनु भएको समस्या र मानव अधिकारको अवस्थाका बारेमा छलफल गर्ने उद्धेश्यले समन्वय बैठकको आयोजना गरेको बताउनु भयो । उहाँले मानव अधिकारका सवालहरु शिक्षा, स्वास्थ्य तथा राष्ट्रिय तथा अन्तराष्र्टिय कानुनले प्रत्याभूत गरेका अधिकारको कार्यन्वयनको अवस्थाका बारेमा पनि अनुसन्धानात्मक समाचारहरु प्रकाशन गर्न आग्रह गर्नु भयो ।
निश्पक्ष र मर्यादित रुपमा समाचार सङ्कलन तथा सम्प्रेषण गर्दा पत्रकारमाथि आक्रमण गर्ने, धम्की दिने र डरत्रास दिने कार्य भएको अवस्थामा आफूहरुलाई सप्रमाण जानकारी प्राप्त भएमा सस्थागत रुपमा सहयोग गर्न प्रतिवद्ध रहेको इन्सेक प्रदेश संयोजक जोशीले बताउनु भयो । पत्रकार मोहन विष्टले राजनीतिककरणका कारण पत्रकारहरु असुरक्षित भन्दै गएका र पत्रकारहरुले पनि आचरसंहिता पालना नगर्दा थप चुनौतीहरुको सामना गर्नु परिरहेको बताउनु भयो ।
पत्रकार मदन गिरीले समाचार सङ्कलन तथा सम्प्रेषणका क्रममा पनि डर र धम्कीहरु आउने गरेको भएपनि संस्थागत रुपमा पत्रकारहरुलाई सहयोग नगरिएको बताउनु भयो । नेपाल पत्रकार महासंघ, कञ्चनपुरका अध्यक्ष माधवसिंह धामीले समाचार लेख्दा प्रमाणसहितका समाचारहरु मात्रै प्रकाशन गर्न सकियो भने पत्रकारहरुले जोखिम बहन गर्न नपर्ने बताउनु भयो । उहाँले पूर्वाग्रही भएर समाचार नलेखी निष्पक्ष, स्वतन्त्र भएर समाचार सङ्कलन तथा सम्प्रेषण गर्दा जोखिम कम हुने र जनमानसमा पनि राम्रो संदेश जाने बताउनु भयो ।
लिली कुँवर