मानव अधिकारको पहुँच बृद्धिमा इन्सेकको भुमिका वर्णन योग्य छः ज्ञावली
स्याङ्जा । २०८० असार २१ गते
जिल्ला अदालत स्याङ्जाका न्यायाधीश रोमाकन्त ज्ञावलीले मानव अधिकारको पहुँच बृद्धिका लागि इन्सेकले खेल्दै आएको भुमिका वर्णन योग्य रहेको बताउनु भएको छ । इन्सेक स्याङ्जाद्वारा असार २१ गते आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै न्यायाधीश ज्ञवालीले सो कुरा बताउनु भएको हो । अन्यायमा परेका दुरदराज र बेसाहारका लागि इन्सेकले सहयोग गर्दै आइरहेको कुरा थाहा पाएको बताउँदै उहाँले न्यायका लागि पहँुच नभएकाहरूका लागि जिल्ला अदालतले समेत सहयोग गर्ने व्यवस्था भएको जानकारी दिनु भयो ।
कार्यक्रममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सन् २०२३ को जनवरीदेखि जुनसम्म अभिलेख गरिएका ४६ ओटा घटना प्रस्तुत गरिएको थियो । जसमा १८ ओटा घरेलु हिंसा, १३ ओटा बलात्कार, एउटा हत्या, दुई ओटा बहुविवाह र एउटा बाल अधिकार उल्लङ्घनको रहेको छ । प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले सरकारी क्षेत्रबाट हुन नसकेको काम इन्सेकले गर्दै आएको बताउँदै नेपाल मानव अधिकार वर्ष पुस्तक एक उदाहरण भएको उल्लेख गर्नु भयो । पुतलीबजार नगरपालिकाकी उपप्रमुख देवी अर्यालले मानव अधिकार रक्षाका लागि आफ्नो नगरपालिकाबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनु भयो ।
राधाकृष्ण शर्मा