मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा लागि पर्ने नगरप्रमुख रिजाल
दैलेख । २०७९ भदौ २३ गते
मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा लागि पर्ने दुल्लु नगरपालिकाका नगरप्रमुख भरत प्रसाद रिजालले प्रतिवद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजनामा भदौ २३ गते दुल्लुमा आयोजित मानव अधिकारका सवालमा मानव अधिकार रक्षक र सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख रिजालले उक्त प्रतिवद्धता जनाउनु भएको हो । मानव अधिकारका विभिन्न सूचक बनाएर सबै जनाले अवस्था सुधारमा लाग्ने हो भने दुल्लुलाई उदाहरणीय पालिका बनाउन सकिने नगर प्रमुख रिजालले सुझाव दिनु भयो । कार्यक्रममा दुल्लु नगरपालिकाका उपप्रमुख विना कार्कीले न्यायिक समितिमा आएका घटनाको छिटो भन्दा छिटो छिनोफानो गर्ने गरी काम गर्दै आएको बताउनु भयो । समुदायमा अहिले पनि किशोरी र बालिका असुरक्षित भएकाले उनीहरुको आत्मसुरक्षाका विषयमा इन्सेकसँग मिलेर आगामी दिनमा काम गर्ने आश्वासन दिनु भएको छ ।
इलाका प्रहरी कार्यालय, दुल्लुका प्रमुख नरेश विकले आफ्नो क्षेत्रमा काम गर्ने अधिकारकर्मीको विवरण संकलन गरी अधिकारकर्मीको सुरक्षाको विषयमा प्रहरी सधै चनाखो हुने बताउनु भयो । इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले नेपाल सरकारले मानव अधिकारकर्मीको सुरक्षा र संरक्षण सम्बन्धी जारी गरेको आदेश, २०७७ को प्रस्तावना र उक्त आदेशमा भएका मुख्य मुख्य विषयमा चर्चा गर्नु भएको थियो । सूचना प्रवाहमा खटिएका मानव अधिकार रक्षकको विशेष सुरक्षाको प्रबन्ध र संरक्षण राज्यबाट गर्नु पर्ने नेपाल सरकारको गृह मन्त्रालयको आदेशमा उल्लेख भएकाले यसको व्यवहारिक कार्यान्वयन हुनु पर्नेमा इन्सेकका प्रदेश संयोजकले जोड दिनु भयो । कार्यक्रमका सहभागिहरुले समुदायमा महिला अधिकार, बालअधिकारका घटना बढी भएको र यस्ता घटना सकेसम्म मिलापत्र हुने र कानुनी प्रकृयामा कम जाने गरेको बताउनु भयो ।
इन्सेक कर्णाली प्रदेश कार्यलय, सुर्खेत