मानव अधिकारको सवाल विषयक तालिम सम्पन्न

मकवानपुर । २०८० असार १४ गते

मनहरी गाउँपालिकामा मानव अधिकारका सवाल पहिचानसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । मनहरी गाउँपालिकामा अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) अन्तर्गत सञ्चालन भइरहेको कार्यक्रममा मानव अधिकारको सवाल विषयक कार्यशाला इन्सेकले सञ्चालन गरेको हो । मनहरी गाउँपालिका वडा नं. १ मा असार १४ गते कार्यशाला सञ्चालन गरिएको थियो । कार्यशालामा मनहरी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष, महिला तथा बाल समूहका पदाधिकारी, वडा सदस्यहरू लगायतको सहभागिता रहेको थियो । सहभागीहरूलाई मानव अधिकारसम्बन्धी अवधारणा, मानव अधिकारका सवालहरूका विषय, बालबालिकासम्बन्धी ऐन २०७५ मा गरिएको कानुनी व्यवस्थाको बारेमा जानकारी दिइएको थियो । मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना लगाएत बालिबालिकाको विकास र निर्णय प्रकृयामा अर्थपूर्ण सहभागिताका लागि समन्वय गर्नु पर्ने स्थानीय तहका सरोकारवाला निकायहरू लगायत बालबालिकाहरूको सहभागिता शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा गरिनु पर्ने आधारभूत दायित्वका विषयहरूमा कार्यक्रम अधिकृत कृष्णप्रसाद नेपालले सहजिकरण गर्नु भएको थियो । 

  

कार्यक्रममा मनहरी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष शिवप्रसाद खनालले महिला अधिकार र मानव अधिकारका विषयहरूलाई सामाजिक न्यायसँग जोड्नका लागि स्थानीय सरकारबाट विभिन्न योजनाहरू तयार गरी कार्यन्वयन गरिएको बताउनु भयो । उहाँले आगामी दिनमा महिला समूहका पदाधिकारीहरूले तालिममा सिकेका विषय वस्तुहरूलाई कार्यन्वयन गर्नका लागि समुदाय, स्थानीय बाल क्लब र सरोकारवालाहरूको मद्दतबाट थप सहज हुने उल्लेख गर्नुभयो । यसैगरी, दलित, अल्पसङ्ख्यक र अपाङ्गता भएका तथा विपन्न वर्गका बालबालिका शिक्षाको पहुँच भन्दा बाहिर रहेका छन् । बाल हिंसा, दुर्व्यवहार पीडित र अधिकांश बालबालिकाहरूले बिचमै पढाई छोड्ने समस्या रहेको हुँदा उनीहरूलाई विद्यालयमा टिकाउन स्थानीय सरकारको दायित्व र व्यवस्था बारेमा पनि छलफल भएको थियो । सहभागीहरूले महिला अधिकार, मानव अधिकार र बालबालिकाको अधिकारलाई प्रवर्धन गर्नको लागि स्थानीय सरकारले चासो दिनु पर्ने धारणा राखेका थिए ।

इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा