








नवलपरासी (सुस्ता पूर्व) । २०७८ चैत १६ गते
विनयी त्रिवेणी गाउँपालिकामा मानव अधिकारसम्बन्धी अभिमुखिकरण कार्यक्रम चैत १५ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजना विनयी त्रिवेणी गाउँपालिकाको सहयोग र इन्सेकदुवारा विनयी त्रिवेणी गाउँपालिकामा गठन गरिएको मानव अधिकार समूहको सहकार्यमा आयोजित कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ र ७ का सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा इन्सेक नवलपुरका जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले मानव अधिकारको बारेमा अभिमुखिकरण गर्नुभएको थियो । मानव अधिकारसम्बन्धी महासन्धी, विभिन्न सन्धीहरूको बारेमा छलफल सञ्चाल गर्दै उहाँले मानव अधिकार संरक्षणको लागि सबै सरोकारवालाहरु एकबद्ध बन्न आवश्यक रहेको बताउनुभएको थियो ।
उहाँले कार्यक्रममा नागरिक तथा राजनितिक अधिकार र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रस्तुतिकरण गर्नुभएको थियो । यस्तै अपराधका घटना र मानव अधिकारमा के फरक छ भन्ने विषयमा सहभागीहरुसँग सहभागिता मुलक छलफल गराउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि विनयी त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष मिनाकुमारी रानाले मानव अधिकार सबैको लागि समान भएको बताउनुभयो । मानव अधिकार संरक्षणको लागि विनयी त्रिवेणी गाउँपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउदै उहाँले इन्सेकसँगको सहकार्यमा मानव अधिकारको बारेमा अभिमुखिकरण गरिरहेको बताउनुभयो ।
गाउँपालिका मार्फत बालबालिका, जेष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्ति, लक्षित समुदायहरुको लागि बजेट विनियोजन गरेर उनीहरुको अधिकार प्रत्याभूति गराउन निरन्तर सहयोग गरिरहेको बताउनुभयो । विनयी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष प्रितम गुरुङले मानव अधिकार संरक्षणको लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो । विगतमा प्रकृतिसंग जीवनयापनको लागि सङ्घर्ष गरेको मानवले क्रमश आफ्नो चेतनाको विकाससँगै मानव अधिकारको विषय आएको भन्दै मानवलाई सम्मान पूर्वक बाच्नको लागि मानव अधिकार आवश्यक रहेको बताउनुभयो ।
विनयी त्रिवेणी गाउँपालिका–७ का वडाध्यक्ष गोपाल बहादुर क्षेत्रीले नागरिक तथा राजनितिक अधिकारको प्राप्तिसँगै आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको विषय आम मानिसको जीवनसँग प्रत्यक्ष जोडिने बताउदै यसको सवालमा निरन्तर रुपमा जनता सम्म सचेतना पुर्याउन आवश्यक रहेको बताउनुभएको थियो । मानव अधिकार समूह विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष धर्मबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण इन्सेक जिल्ला सहजकर्ता गंगा विश्वकर्माले गर्नुभएको थियो ।
तिर्थराज डुम्रे