मानव अधिकारसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

सिरहा । २०७९ वैशाख १ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा मानव अधिकारसम्बन्धी अभिमुखिकरण कार्यक्रम सखुवानन्कारकट्टी गाउँपालिकामा चैत ३० गते सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत आयोजित कार्यक्रममा सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादवले इन्सेकले हाम्रो गाउँपालिकामा काम गरेर मानव अधिकारको सवालमा हामीलाई जबाफदेही बनाउन मद्दत गरेको बताउनु भयो । ‘हामीले काम गर्दा गाउँपालिकामा शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधारका कामहरू अस्तव्यस्त थियो । त्यस्तो अवस्थामा दलितहरूलाई प्राथमिकतामा राखेर सोही अनुसारको काम गरी शिक्षा, स्वास्थ्यका सवालमा उल्लेखनीय काम गरेर देखाएका छौँ ।’–उहाँले भन्नु भयो ।

इन्सेकका प्रदेश संयोजक राजु पासवानले समुदायमै पुगेर इन्सेकले काम गरिरहेको हुनाले नै सेवा प्रदायक र सेवाग्राहीबिच भेट गराएर समस्याको पहिचान तथा समाधानको खोजी गर्ने गरेको बताउनु भयो । इन्सेकले मानव अधिकारको प्रत्याभूति गराउन जनतालाई र जिम्मेवार निकायलाई जबाफदेही बनाउन यो परियोजनामार्फत आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको क्षेत्रमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारमार्फत काम गरेको बताउनु भयो ।

दुर्गा परियार