मानव अधिकारसम्बन्धी तालीमका लागि सिटिइभिटी र इन्सेकबिच समझदारी
काठमाडौँ । २०८० साउन १९ गते
मानव अधिकार शिक्षासम्बन्धी तालीम सञ्चालनका लागि इन्सेक र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् बिच साउन १९ गते समझदारीपत्रमा हस्ताक्षर भएको छ । व्यवसायिक शिक्षा तथा तालीम परिषद्का तर्फबाट उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले र इन्सेकका तर्फबाट अध्यक्ष डा. कुन्दन अर्यालले सो समझदारीपत्रमा हस्ताक्षर गर्नु भएको हो । मानव अधिकार र सामाजिक न्यायका सम्बन्धमा प्राविधिक र व्यावसायिक तालीम सञ्चालन गर्न आवश्यक ठानेर यो समझदारीपत्रमा हस्ताक्षर गरिएको सिटिइभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले बताउनु भयो । उहाँले सुरुमा केही विद्यालयमा अतिथि शिक्षकका रुपमा मानव अधिकारको विषयमा पढाएर यो कार्यको सुरुवात गर्ने पनि बताउनु भयो ।
यो सम्झौतापछि मानव अधिकारसम्बन्धी पाठ्यक्रमको विकास, क्षमता अभिवृद्धि, अनुसन्धान, सेमिनार, कार्यशाला र अन्य जल्दोबल्दो मुद्दाहरूमा संयुक्त रूपमा दुवै पक्षलाई सहकार्यको ढोका खुलेको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बताउनु भयो । उहाँले यसै आर्थिक वर्षबाट दक्ष जनशक्ति उत्पादनमा सिटिइभिटी र इन्सेकको प्रयास अघि बढेको बताउनु भयो । इन्सेक तीन दशकदेखि मानव अधिकारको मुद्दामा काम गर्दै आएको नागरिक संस्था हो भने सिटिइभिटीले प्राविधिक र व्यवसायिक तालीम सञ्चालन गरेर दक्ष जनशक्ति उत्पादन गर्दै आएको सरकारी निकाय हो ।