मानव अधिकार अनुगमन तथा प्रलेखीकरणसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
बाँके । २०८१ वैशाख २८ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजना र डिसिएको सहयोगमा मानव अधिकार अनुगमन तथा प्रलेखीकरणसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम ०८१ वैशाख २८ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले आम नागरिकको हक अधिकार संरक्षण, सम्बर्द्धन तथा संरक्षण आवश्यक भएको र पीडितहरूको न्याय निरुपण गर्दा सबै निकायसँग समन्वय तथा सहकार्य गर्न जरुरी रहेको बताउनु भयो । मानवले मानवका लागि गरिने व्यवहार नै मानव अधिकार भएको संयोजक महतले उल्लेख गर्नुभयो । मानव अधिकारको कुरा गर्दा ज्येष्ठ नागरिक, अपाङ्गता, किसान, मेलमिलाप, समाजसेवी, गृहणी, प्रशिक्षक, विद्यार्थी, मजदुर सबै समान भएको र भुमिका मात्रै फरक हुन सक्ने उहाँको भनाइ छ ।
यसैगरी यस कार्यक्रमका प्रशिक्षक एवम् मानव अधिकारकर्मी प्रकाश उपाध्यायले मानव अधिकारको विषय भौतिक निर्माणको विषय जस्तो एक पटक सुरु भएर समाप्त नहुने समय अनुसार निरन्तर चलिरहने प्रक्रिया रहेको बताउनु भयो । त्यस्तै फेडो लुम्बिनी प्रदेश कार्यालयका संयोजक निर्मला सुनारले स्वतन्त्रता र मर्यादित जीवन यापन गर्न पाउनु हरेक मानवको अधिकार भएको बताउनु भयो । उहाँले कुनै जाति, धर्म र वर्गको आधारमा गरिने विभेद मानव अधिकार हनन् हुने उल्लेख गर्नुभयो । सभ्य समाज निर्माण गर्न र समृद्ध बनाउन हरेक नागरिक जिम्मेवार हुन जरुरी रहेको उहाँको भनाइ छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयको कार्यक्रम अधिकृत सरश्वती मल्लले मानव अधिकारकर्मीले राज्यका हरेक तहमा मौलिक हक प्राप्त गर्न नसकेको बताउनु भयो । यसको अनुगमन गरी सम्बन्धित निकायलाई सचेत गराउने उहाँले उल्लेख गर्नुभयो ।
ध्रुबराज शर्मा