मानव अधिकार तथा कानुनी संयन्त्रसम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

मकवानपुर । २०८० जेठ १९ गते

मानव अधिकार तथा कानुनी सयन्त्रसम्बन्धी अभिमुखीकरण तालिम ०८० जेठ १९ गते हेटौँडामा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सञ्चालन भएको दुई दिने तालिममा मनहरी गाउँपालिका वडा नम्बर १, २, ३ र ४ यस्तै हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ का १५ ओटा महिला समूहका सदस्यहरू सहभागी भएका थिए । इन्सेक बागमती प्रदेश कार्यालयका प्रमुख गणेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा इन्सेक कार्यक्रम संयोजक कृष्ण प्रसाद नेपालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै कार्यक्रम सञ्चालित स्थानीय तहमा मानव अधिकारलाई सुदृढ बनाउनको लागि मानव अधिकार समुहमार्फत सचेतना कार्यक्रम, मानव अधिकार सम्बन्धि अन्तर्किया,जनप्रतिनधिहरूका लागि मानव अधिकार र महिला अधिकारबारे क्षमता अभिवृद्धि कार्यक्रम र स्थानीय सरोकारहरूसँग शिक्षा, स्वास्थ्य, खाद्य अधिकारबारे सार्वजनिक सुनुवाइ जस्ता कार्यक्रमहरू गरी समुन्नत समाज निर्माणमा पैरवी गरिरहेको बताउनु भयो ।

        

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारीले संविधानले सुनिश्चित गराएको अधिकारका बारमा कार्यपत्र प्रस्तुत गर्दै जनताको अधिकार प्रत्याभुत गराउन स्थानीय तहको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । यस्तै उहाँले स्थानीय पालिका मानव अधिकारमैत्री बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा मनहरी गाउँपालिका प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठ, सामाजिक विकास शाखा प्रमुख शैलेश बास्कोटाले मानव अधिकारको विषयमा मनहरी संवेदनशील रहेको बताउँदै आउँदो नीति तथा कार्यक्रममा पनि मानव अधिकारको विषयलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । डब्लुपीडी नेपालको सहकार्यमा इन्सेकले हेटौँडा उपमहानगरपालिकामा अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) सञ्चालन गरेको हो ।

पुष्पराज अधिकारी