मानव अधिकार तथा महिला अधिकारको दुई दिने तालिम हेटौँडामा सुरु
मकवानपुर । २०८० साउन १९ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिका र हेटौँडा उपमहानगरपालिका-१९ का स्थानीय महिला तथा पुरुषलाई मानव अधिकार, महिला अधिकार तथा क्षमता अभिवृद्धिसम्बन्धी दुई दिने तालिम ०८० साउन १९ गते हेटौँडामा सुरु भएको छ । अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत इन्सेकले कार्यक्रम सञ्चालित मकवानपुरका दुई पालिकाका स्थानीय महिला तथा पुरुषलाई तालिम दिइएको हो । जिल्ला अदालत मकवानपुरका माननीय न्यायाधीश ऋषिराम निरौलाको प्रमुख आतिथ्यतामा सञ्चालन भएको तालिममा उहाँले अरुको कुरा सुन्नी, मानव अधिकारको बारेमा आफ्नो अनुभव बताउने, दोधार भएका कुराहरूको स्पष्ट हुनुपर्ने र तालिममा सिकेका कुराहरू अरुलाई पनि सिकाउनु पर्ने कुरा बताउनु भयो ।
तालिम प्राप्तिपछि कार्यन्वयनका लागि स्थानीय तहमा गएर समूहमा थप छलफल गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । आय आर्जनका लागि केही वस्तु र सामाग्री मागेर हैन सीप र ज्ञान तथा प्रविधिको विकास र प्रयोग गर्न सके दिगो रूपमा र स्थायित्व कायम हुने उल्लेख गर्नु भयो । न्यायाधीश निरौलाले तालिममा कानुनको प्रभावकारी कार्यान्वयन र न्यान निरुपण गर्ने कार्यको लागि महिला समूह, स्थानीय सरकारको पनि महत्त्वपूर्ण भूमिका रहनेमा जोड दिनु भयो । उक्त तालिममा इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीले लैङ्गिक समानताको मध्यनजर गर्दै सबै कार्यक्रममा महिलाको पनि सहभागिता हुन जरुरी रहेको बताउनु भयो । महिला अधिकारको विषयमा स्थानीय तहबाट कार्यन्वयनको लागि सबै युवा तथा पुरुषहरूको पनि भूमिका रहेको उहाँले उल्लेख गर्नुभयो । अवसर र पहुँचको अभावका कारण अझै पनि महिला, दलित र विपन्न वर्ग अधिकारको पहुँचबाट पिछडिएको महासचिव डा. अधिकारीले बताउनु भयो । वञ्चितमा रहेका वर्गहरूलाई विकासको मूल प्रवाहिकरणसँगै मानव अधिकार मैत्री विकास हुनुपर्नेमा उहाँले जोड दिनुभयो । आर्थिक उन्नयन बिना मानव अधिकार प्राप्त हुन नसक्ने हुँदा सचेतना शिक्षाका लागि यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने बताउनु भयो । राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारीले नागरिक अधिकार र राजनीतिक अधिकारको साथसाथै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको विकासमा सचेत रहनुपर्नेमा जोड दिनुभयो । मानव अधिकारको विकासमा सबै जनता बलियो भयो भने स्थानीय सरकार पनि बलियो हुने उहाँले उल्लेख गर्नुभयो । मानव अधिकार अराजकता होइन, अधिकारसँगै कर्तव्य पनि निर्वाह हुनुपर्नेमा उहाँले बताउनु भयो ।
इन्सेकका बागमती प्रदेश संयोजक गणेश भण्डारीले मानव अधिकार समूहका सदस्यलाई दिइएको यस तालिमले स्थानीय स्तरमा हुने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको पहिचान गर्न सहज हुने बताउनु भयो । यस्तै स्थानीय पालिका मानव अधिकारमैत्री बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । संयोजक भण्डारीले वडामा आय आर्जनमा आवद्ध महिला समूहलाई मानव अधिकार र महिला अधिकार घरेलु हिंसाको पहिचान न्याय प्रकृयामा पहुँच र नेतृत्व विकासको पाटोमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो तालिमको आयोजना गरिएको उल्लेख गर्नुभयो । उहाँले यस तालिमबाट प्राप्त ज्ञान र क्षमता आआफ्नो समूहका सदस्यहरूलाई सिकाउन सके यस कार्यक्रमको उद्देश्य पुरा हुने समेत बताउनु भयो । मनहरी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष प्रकाश थापाले मानव अधिकारको कुरामा सबैले यसको उल्लङ्घन बारे जानकारी लिनु निकै उपयुक्त रहेको बताउनु भयो । अधिकारको साथसाथै शिक्षा, स्वास्थ्य र सामाजिक कुरामा पनि ध्यान दिनुपर्नेमा उहाँले जानकारी दिनुभयो । हरेक तालिममा महिलाको साथसाथै पुरुषको पनि सहभागि गराउन सकेमा दुवैले समान रुपमा काम गर्न सक्ने उहाँको भनाई छ । मनहरी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष शिवप्रसाद खनालले हरेक कुरामा अगाडि बढ्न आफैमा सक्षम बन्न जरुरी रहेको बताउनु भयो । महिला अधिकारको तालिममा पुरुषलाई पनि सहभागि गराउनु पर्नेमा उहाँले जोड दिनुभयो । यस तालिममा सिकेका सबै कुराहरू परिवारमा पनि जानकारी गरी सबैमा सचेत बनाउन उहाँले सबैमा आग्रह गर्नुभयो ।
हेटौँडा उपमहानगरपालिका वडा नं. १९ का वडाध्यक्ष नरनाथ सुवेदीले इन्सेकद्वारा सञ्चालित कार्यक्रमहरूको उपलब्धीहरू, सिकाई, चुनौती र दिगोपनका विषय निकै महत्तो रहेको बताउनु भयो । मानव अधिकार उल्लङ्घनको कुराहरू सबैले वडा कार्यालयमा जानकारी गराएमा यसको कानुन बनाउन र कार्यन्वयन गर्न सजिलो हुने उहाँले उल्लेख गर्नुभयो । उक्त तालिममा इन्सेक कार्यक्रम संयोजक कृष्णप्रसाद नेपालले तालिमको उद्देश्यमाथि प्रकाश पार्दै कार्यक्रम सञ्चालित स्थानीय तहमा मानव अधिकारलाई सुदृढ बनाउनको लागि मानव अधिकार समूहमार्फत सचेतना कार्यक्रम, जनप्रतिनधिहरूका लागि मानव अधिकार र महिला अधिकारबारे क्षमता अभिवृद्धि कार्यक्रम र स्थानीय सरोकारहरूसँग शिक्षा, स्वास्थ्य, खाद्य अधिकारबारे सार्वजनिक सुनुवाइ जस्ता कार्यक्रमहरू गरी समुन्नत समाज निर्माणमा पैरवी गरिरहेको बताउनु भयो । डब्लुपिडिकी फिल्ड सुपरभाइजर तिल कुमारी हुमागाँइले अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण गर्नको लागि महिला र पुरुष दुवै समन्वय र सहकार्य गर्दै महिलाहरूलाई आएआर्जनमूलक कार्यमा आफै आत्मनिर्भर हुनुपर्ने बताउनु भयो । महिला आफैमा सक्षम भएमा सबै क्षेत्रमा अगाडि बढ्नमा र महिला हिंसा न्यूनीकरण हुने कुरामा स्पष्ट पार्नुभयो ।
पुष्पराज अधिकारी