मानव अधिकार दिवसको अवसरमा प्रभात फेरी
धनुषा । २०८० मङ्सिर २४ गते
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकारका क्षेत्रमा क्रियाशिल संघ संस्थाहरूको संयुक्त आयोजनामा ०८० मङ्सिर २४ गते विहान जनकपुरधाममा प्रभात फेरीको आयोजना गरिको छ । भविष्यमा मानव अधिकार संस्कृतिलाई एकिकृत र दिगो बनाउँदै लैजाऔँ भन्ने मुल नाराका साथ ७५ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आज विहान जनकपुरधामस्थित श्री राम युवा क्लवको प्रांगणबाट निकालिएको प्रभातफेरी जनकचोक, शिवचोक, भानुचोक हुँदै रेल वे स्टेशनमा पुगी सभामा परिणत भएको थियो । कोण सभालाई उच्च अदालत जनकपुरका मुख्य न्यायाधिश श्रीकान्त पौडेलले सम्बोधन गर्दै मानव अधिकारको विश्व व्यापि घोषणा पत्र जारी भएको आजको दिन भएको उल्लेख गर्नु हुँदै सबै नागरिकको मानव अधिकार संरक्षण हुनु पर्ने बताउनु भयो । मानव अधिकार संस्कृतिको विकास आवश्यक रहेको उहाँले उल्लेख गर्नु हुँदै हामी सरोकारवाला निकायले मानव अधिकारको रक्षामा दृढ हुनुपर्नेमा जोड दिनु भयो । धनुषाका प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले मानव अधिकारको अवस्था खस्किन नदिन सबैको भूमिका आवश्यक रहेको उल्लेख गर्नु हुँदै संविधान, ऐन र कानुनले प्रद्दत्त नागरिकको अधिकार सुनिश्चित हुनु पर्नेमा जोड दिनु भयो । मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरका एसएसपी प्रविण पोखरेलले सन् २०२३ मा अन्य प्रदेशको तुलनामा मधेस प्रदेशमा महिला हिंसाका घटनाहरू बढेर गएकोले मानव अधिकारसम्बन्धी सचेतनाका कार्यक्रमहरू गर्नु पर्नेमा जोड दिनु भयो ।
इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले मधेस प्रदेशमा मानव अधिकारको अवस्था सुधारोन्मुख नरहेकोले यसप्रति सरोकारवाला निकाय गम्भीर हुन आवश्यक रहेको बताउनु भयो । मानव अधिकार उल्लंघनका घटना हुन नदिन कानुनको प्रभाकारी कार्यान्वय आवश्य रहेको र ग्रमिण तहसम्म सचेतनाका माध्यमबाट मानव अधिकार संस्कृतिको विकास गर्नु आजको आवश्यकता रहेको उहाँले जोड दिनु भयो । प्रभातफेरी कार्यक्रममा नेपाल सरकार, मधेस प्रदेश सरकार, स्थानीय सरकारका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय मानव अधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश, एडभोकेसी फोरम, ओरेक, फियान नेपाल, माइती नेपाल, आफन्त नेपाल, उन्नत नेपाल, दलित महिला संघ, मानव अधिकार जिल्ला सञ्जाल, महिला मानव अधिकार रक्षक जिल्ला सञ्जाल, जिल्ला युवा सञ्जाल र लैङ्गिक हिंसा न्यूनिकरण सञ्जाल, धनुषा लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । यसैबीच इन्सेक, ओरेक, एडभोकेसी फोरम लगायतका संघ संस्थाहरूले आज साँझ जनकपुरको जनकचोकमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । दिप प्रज्वलन कार्यक्रममा मानव अधिकारका क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । मानव अधिकारको विश्व व्यापि घोषणा पत्र १० डिसेम्बर १९४८ मा जारी भएको थियो । सोही दिनको अवसरमा मानव अधिकारका क्षेत्रमा क्रियाशिल संघ संस्था तथा व्यक्तित्वहरूले विभिन्न कार्यक्रमहरूको आयोजना गरी मानव अधिकार दिवस मनाउँदै आइएको छ ।
इन्सेक मधेस प्रदेश कार्यालय, जनकपुरधाम