मानव अधिकार प्रलेखसम्बन्धी पुनर्ताजगी कार्यक्रम सुरू

बाँके । २०७८ साउन २७ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा मानव अधिकार प्रलेखसम्बन्धी दुई दिने पुनर्ताजगी कार्यक्रम साउन २७ गतेबाट नेपालगञ्जमा सुरू गरिएको छ । कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले विगत लामो समयदेखि मानव अधिकार तथा सामाजिक न्यायका क्षेत्रमा इन्सेकको भूमिकाको बारेमा चर्चा गर्नुभयो । उहाँले इन्सेकका जिल्ला प्रतिनिधिहरूले स्थलगत रुपमा घटना सङ्कलन गर्ने भएकाले इन्सेकको अभिलेख पारदर्शी रहेको बताउनु भयो । कार्यकारी निर्देशक गौतमले कोभिड–१९ का कारण सबैभन्दा ठुलो समस्या स्वास्थ्य क्षेत्रमा देखिएकाले कोभिड र स्वास्थ्य प्रभावका विषयमा इन्सेकले अभिलेखीकरणको योजना बनाएको बताउनु भयो । इन्सेक अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिनाले जिल्ला प्रतिनिधिहरूले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका विषयलाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गर्न आग्रह गर्नु भयो ।

इन्सेक सुदुरपश्चिम प्रदेश प्रमुख खडकराज जोशीले नेपाल मानव अधिकार वर्ष पुस्तकको मुख्य स्रोतको रूपमा जिल्ला प्रतिनिधिहरू रहेको बताउनु भयो । इन्सेक प्रदेश १ का प्रमुख सोमराज थापाले मानव अधिकारको अवधारणा र मानव अधिकारका विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा इन्सेक अनलाइनका सम्पादक रमेशप्रसाद तिमिल्सिनाले अनलाइन समाचार र लेखन शैली, इन्सेकका प्रलेख अधिकृतहरू कृष्णबहादुर बिक, विनोद पाण्डे र टिका विष्टले घटनाहरूको अभिलेखीकरण र प्रविष्टिबारे सहजीकरण गर्नु भएको थियो । साउन २८ गतेसम्म सञ्चालन गरिने कार्यक्रममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्ला प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

स्मृति देवकोटा