मानव अधिकार मैत्री कार्यक्रमका लागि ध्यानाकर्षण
सप्तरी । २०८१ साउन ६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित डाक्नेश्वरी नगरपालिकाको मानव अधिकार समूहले मानव अधिकार मैत्री समाज निर्माणका लागि डाक्नेश्वरी नगरपालिकाको नगर प्रमुख रामलखन मलाहालाई ०८१ साउन ४ गते अवधारणा-पत्र बुझाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन तथा पाँचौ राष्ट्रिय कार्ययोजना अनुरुप जनताका आधारभूत आवश्यक्ता परिपूर्ति गर्ने दायित्व स्थानीय सरकारको पनि भएकोले पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन गराउने उद्देश्यले नगरप्रमुख मलाहालाई अवधारणा-पत्र बुझाइएको हो ।
अवधारणा-पत्रमा वडा स्तरीय मानव अधिकार समूह गठन र क्षमता अभिवृद्धि तालिम, समुदाय केन्द्रित वहस र पैरवी, जातीय विभेद तथा छुवाछुत उन्मुलनका लागि जनचेतनामूलक कार्यक्रम, मानव अधिकार सहायता कक्ष स्थापना, जनप्रतिनिधिहरूलाई मानव अधिकार विषयक क्षमता अभिवृद्धि तालिम गर्न माँग गरिएको छ ।
यसैगरी शिक्षक, अभिभावक र विद्यार्थी भेला, महिला, युवा, बालबालिका र ज्येष्ठ नागरिक भेला, कर्मचारी, उद्यमी र कृषि भेलाका साथै महिला हिंसा तथा सबै हिंसा विरूद्ध सचेतना कार्यक्रम र सरसफाई अभियान सञ्चालन गर्न अवधारणा-पत्र दिइएको छ ।
नगर प्रमुख मलाहाले मानव अधिकार समूहले गरेका काम उदाहरणीय रहेको चर्चा गर्नुहुँदै नगरपालिकाबाट सदैव सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । अवधारणा-पत्र लिनुहुँदै उहाँले बजेट प्रस्तावनामा राख्ने र विनियोजित बजेटको परिचालन सहज र सरल गरिने बताउनु भयो ।
मानव अधिकार समूहका अध्यक्ष रामचन्द्र मण्डल, कोषाध्यक्ष मो मुसा अन्सारी, सदस्य दिनेश खंग र इन्सेक जिल्ला सहजकर्ता अजय परियारको टोलीले नगरप्रमुख मलाहालाई अवधारणा-पत्र बुझाएको हो ।
मनोहरकुमार पोखरेल