मानव अधिकार मैत्री पालिका निर्माणमा सरोकारवालाको भुमिका
आठबीस नगरपालिकालाई मानव अधिकार मैत्री नगरपालिका निर्माण सवालमा सरोकारवाला निकायहरुसंग अन्तरक्रिया कार्यक्रम मङ्सिर १९ गते आठबीस नगरपालिकाको राकममा सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतद्धारा आयोजित कार्यक्रममा कार्यवाहक नगरप्रमुख नवराज शर्माले मानव अधिकार मैत्री पालिका निर्माणको आवश्यकता भएको बताउनु भयो । समाजमा बालविवाह, बहुविवाह र घरेलु हिंसाका घटना बढी हुने गरेको इलाका प्रहरी कार्यालय राकमका इन्स्पेक्टर लोकबहादुर कार्कीले बताउनु भयो । कतिपय गम्भीर प्रकृतिका घटना पनि गाउँमा मिलापत्र हुने गरेको कार्कीले जानकारी दिनु भयो । इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुबेदीले आठबीस नगरपालिकालाई मानव अधिकार मैत्री पालिका बनाउन मानव अधिकार विभिन्न सूचक तयार गरी आजैदेखि कामको सुरुवात गरिनु पर्नेमा जोड दिनु भयो । संयोजक सुवेदीले आठबीस नपाका लागि प्रस्तावित मानव अधिकार निर्देशिकामा समावेश गरिनु पर्ने विषय, मानव अधिकार निर्देशिका बनाउनु पर्ने कारण र यसका अपेक्षित प्रतिफलका सम्बन्धमा सहजीकरण समेत गर्नु भएको थियो ।
कार्यक्रममा ५, ६, ९ र ७ नम्बर वडाका वडाध्यक्षहरू र नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत, शिक्षक, सामाजिक सङ्घसंस्थाका प्रमुख र मानव अधिकार रक्षक सञ्जालका सदस्य लगायत अन्य शाखा प्रमुखहरुको पनि सहभागिता थियो । समुदायमा हुने अधिकांश घटना उजुरी प्रक्रियामा नजाने, न्यायिक समिति र प्रहरीको क्षेत्राधिकारको बारेमा अन्यौल, र गम्भीर प्रकृतिका घटना पनि गाँउ घरमै मिलापत्र गर्ने तथा घटनाहरुमा राजनीतिक हस्तक्षेप हुने गरेको कार्यक्रमका सहभागीहरुले बताएका थिए । समाजमा रहेको अहिलेको अवस्थामा सुधार गर्दै जाने हो भने पालिकालाई मानव अधिकार मैत्री पालिका बनाउन सकिने ७ नम्बर वडाका वडाध्यक्ष जैसिंह कठायतले बताउनु भयो । पलिकाको को सवै वडामा कानुनी सचेतना कार्यक्रम संचालन गर्नु पर्ने ५ नम्बर वडाका वडाध्यक्ष बजीरसिंह विकले जोड दिनु भयो । प्रहरीले हेर्ने मुद्दा र न्यायिक समितिले हर्ने उजुरी प्रक्रिया उनीहरुको क्षेत्रअधिकारका विषयमा समुदायमा सचेतना मुलक कार्यक्रम गर्न वडा नम्बर ९ का वडाध्यक्ष शेरबहादुर सिजापतिले सुझाव दिनु भयो ।
अमर सुनार