मानव अधिकार रक्षकसम्बन्धी मस्यौदा कानुनबारे अन्तरक्रिया सम्पन्न
कैलाली । २०७८ कात्तिक ३० गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र सीसु तथा डिसीए परियोजनाको आर्थिक सहयोगमा मानव अधिकार रक्षकसम्बन्धी मस्यौदा कानुन बारे नागरिक समाजसँग कातिक २८ गते अन्तरक्रिया कार्यक्रम टिकापुरामा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खड्क राज जोशीले मानव अधिकार रक्षकहरुले काम गर्ने दौरानमा आइपरेका कानुनी समस्यालाई न्यूनिकरण गर्न मानव अधिकार रक्षकहरुको संरक्षण, संम्बद्र्धन गर्न राज्यलाई जिम्मेवार बनाउनका लागि इन्सेकले मानव अधिकार रक्षकसम्बन्धी मस्यौदा कानुन तयार गरी विभिन्न मानव अधिकारकर्मी तथा नागरिक समाजसँग छलफल गरिरहेको बताउनु भयो ।
नागरिक अगुवा फिरुलाल चौधरीले मानव अधिकार रक्षकहरुले मानव अधिकारको सवालमा काम गर्दा मानव अधिकार रक्षकमाथि आइपरेका समस्या समाधानका लागि कुनै कानुनी प्रवधान नभएका कारण धेरै मानव अधिकारकर्मीहरुले विभिन्न चुनौतीहरुको सामना गर्नु परेकोले मानव अधिकार रक्षकसम्बन्धी कानुन आवश्यक रहेको बताउनु भयो । टिकापुर सामुदायिक एफएमका स्टेशन म्यानेजर एकेन्द्र तिमिल्सीनाले मानव अधिर रक्षकसम्बन्धी मस्यौदा कानुनमा मानव अधिकार रक्षकहरुको सामाजिक न्याय, सुरक्षा तथा कानुनी उपचारको व्यवस्था हुनु पर्ने सुझाव दिनु भयो ।
टिकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक बालकुमार चौधरीले मानव अधिकार रक्षक परिषदको पदाधिकारीमा स्वतन्त्र, निष्पक्ष, निस्वार्थ तथा उच्च अदालतका सेवा निवृत न्यायधीश, सामाजिक सेवामा खटिएका व्यक्ति र मानव अधिकार आयोगसँगको समन्वयमा काम गर्दै आएका अनुभव प्राप्त व्यक्तिहरुलाई राख्नु पर्ने सुझाव दिनु भयो ।
मैनामोती चौधरी