मानव अधिकार रक्षकहरुको लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न

कैलाली । २०७७ पुस ६ गते

 

डिसीए परियोजना अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाका मानव अधिकार रक्षकहरुको लागि आयोजित दुई दिने क्षमता अभिबृद्धि तालिम पुस ६ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयका संयोजक खडकराज जोशीले मानव अधिकार रक्षकको परिभाषा, अधिकार, दायित्व,मानव अधिकार अभिलेखिकरण, लबी र एडभोकेसीसम्बन्धमा सहजीकरण गर्नु भएको  थियो ।

राष्ट्रिय मानव अधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रमुख मोहनदेव जोशीले मानव अधिकार रक्षकसम्बन्धि राष्ट्रिय  तथा अन्तराष्ट्रिय प्रवधान र राष्ट्रिय मानव अधिकार आयोगको  भुमिका,  समन्वय र  सहकार्यका बारेमा सहजीकरण गर्नु भएको थियो । महिला अधिकारकर्मी चित्रा पनेरुले मानव अधिकार रक्षकहरुको चुनौती तथा समाधानका उपायहरु र लैङिगक समानता तथा महिला मानव अधिकार रक्षकहरुको अवस्था र सवालमा समुह छलफल  गराउनु भएको थियो ।

जिल्ला मानव अधिकार रक्षक सञ्जाल, बझाङका सदस्य साबित्रा खडकाले इन्सेकले सञ्चालन गरेको तालिम व्यावहारिक रहेको बताउँदै तालिमबाट  सिकेको सिप र ज्ञानलाई व्यवहारमा लागु गर्ने  प्रतिबद्धता जाहेर गर्नु भयो । जिल्ला मानव अधिकार रक्षक सञ्जाल, डोटीका सदस्य सालीभान साउदले इन्सेकले आयोजना रेको मानव अधिकार  रक्षक क्षमता अभिबृद्धि तालिममा सहभागि भएपछि जिल्लामा उत्पन्न हुने शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको  अधिकारका सवालमा काम गर्न सहयोग हुने बताउनु भयो ।

मैनामोती चौधरी