मानव अधिकार रक्षकहरुको संरक्षण सम्बन्धमा छलफल तथा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ हस्तान्तरण

कैलाली । २०८० जेठ ३२ गते

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको टोलीले जेठ ३२ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलगायत बिभिन्न मन्त्रालय र सरोकारवाला निकायसँग मानव अधिकार रक्षकहरुको अधिकार र संरक्षण सम्बन्धमा छलफल गर्नुको साथै नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ हस्तान्तरण गरेको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले समग्र मानव अधिकारको अवस्था र मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षणसम्बन्धी इन्सेकले तयार गरेकोे विधेयक र गृहमन्त्रालयद्वारा जारी गरिएको मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षण गर्नेसम्बन्धी आदेश बारे छलफल तथा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ हस्तान्तरण गरिएको बताउनु भयो । भेटभाटका क्रममा सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री कमलबहादुर शाहले आफूले मानव अधिकारप्रति गम्भिर रहेकाले आफ्नो कार्यकालमा मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षणसम्बन्धी बनेको विधेयकलाई प्रदेश सभामा छलफल गराई पास गराउने पहलकमदी गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहले मानव अधिकारको सुरक्षा र संरक्षण गर्ने जिम्मेवारी राज्यको भएकाले राष्ट्रिय मानव अधिकार कार्ययोजनालाई कर्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । सुदूरपश्चिम प्रदेशका उद्योग, प्रर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीले आफू नागरिकको पक्षमा रहेकाले मानव अधिकारको सुरक्षा र संरक्षरणमा काम गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायले मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षणसम्बन्धी बनेको विधेयक आफूले डा«फ्ट गरेकाले इन्सेकले बिभिन्न चरणमा छलफल गरी प्रदेश  सरकारलाई बुझउँदा पनि बिभिन्न कारणले पास गर्न नसकिएको बताउनु भयो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डिआइजी भरतबहादुर बोहराले गृह मन्त्रालयद्वारा जारी गरिएको मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षण गर्नेसम्बन्धी आदेशलाई कार्यान्वयन गर्ने र मानव अधिकारको सुरक्षाका लागि मातहतका निकायलाई सचेत बनाउने प्रतिबद्धता जाहेर  गर्नु भयो ।

मैनामोती चौधरी