मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र सङ्क्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया सम्पन्न

प्यूठान । २०७८ भदौ १५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्यूठानको आयोजनामा जिल्लास्थित सरोकारवालहरूसँग मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र सङ्रक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम भदौ १३ गते जिल्ला सदरमुकाम खलङ्गामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले हाल जिल्लामा मानव अधिकारकर्मीलाई कामका दौरानमा  कुनै पक्षबाट असुरक्षित भएको भन्ने जानकारी आफूलाई नआएको बताउनु भयो । अधिकार कर्मी असुरक्षित भएको जानकारी आएमा मानव अधिकार रक्षकहरूको सुरक्षा तथा सङरक्षणका लागि  तयार रहेको प्रजिअ भुसालले प्रतिबद्धता जनाउनु भयो ।

जिल्ला स्तरीय मानव अधिकार सञ्जालका संयोजक पार्वता आचार्यले पुरुष मानव अधिकारकर्मी भन्दा महिला अधिकारकर्मीलाई सुरक्षामा चुनौति आउने गरेकोले राज्यले त्यसतर्फ चासो दिनु पर्ने बताउनु भयो । अधिकारकर्मीसँग राज्य पनि छ भन्ने वातावरण राज्यले निमार्ण गर्नु पर्ने अचार्यले बताउनु भयो । पत्रकार महासङ्घका सदस्य प्यार अली खाँनले जिल्लामा अधिकारकर्मीलाई काम गर्ने क्रममा ठुला घटना नभए पनि समान्य धम्की आउने गरेको र आगामी दिनमा आउन सक्ने भएकाले सुरक्षाको विषयमा राज्यले समयमै तयारी गनुपर्ने भनाई राख्नु भयो । कार्यक्रममा  नेपाल सरकार गृह मन्त्रालय कानुन महाशाखा (मानव अधिकार प्रवद्र्धन शाखा)ले तयार पारेको मानव अधिकार रक्षकहरूको  सुरक्षा र सङ्रक्षण गर्ने सम्बन्धी आदेश २०७७ को जानकारी इन्सेक जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेले गराउनु भएको थियो ।

रविन्द्र पाण्डे