मानव अधिकार रक्षकहरूको अवस्था र सुरक्षा सवाल विषयक छलफल कार्यक्रम सम्पन्न

धनुषा । २०७८ पुस १५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालयको आयोजनामा पुस १३ गते जनकपुरधाममा मानव अधिकार रक्षकहरूको अवस्था र सुरक्षा सवाल विषयक छलफल कार्यक्रम सम्पन्न गरिएको छ । प्रदेश २ का प्रदेशसभा सांसद रामाशिष यादवले मानव अधिकार रक्षकले निकै चुनौतीको सामना गर्नु पर्ने बताउनु भयो । मानव अधिकार रक्षकले आवाज विहिनहरुको आवाज उठाउन र न्यायमा पहुँचको लागि काम गर्नु पर्ने भएकाले यो काम चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ । मानव अधिकार रक्षकहरूले पीडितका लागि काम गरिरहँदा आफुनो अवस्था र सुरक्षाको समेत ख्याल गर्नुपर्ने सुझाव दिँदै उहाँले सुरक्षा चुनौती भए सम्बन्धित निकायमा खबर गरी आवश्यक सहयोग लिन आग्रह गर्नु भयो ।

राष्ट्रिय मानवअधिकार आयोग प्रदेश २ का प्रमुख विरबहादुर बुढा मगरले मानव अधिकार रक्षकहरूले पीडितहरूको पक्षमा काम गरिरहँदा कुनै पनि प्रकारका सुरक्षा खतरा महसुस भएको खण्डमा आयोगमा जानकारी गराउन आग्रह गर्नु भयो । उहाँले मानव अधिकार रक्षकहरूको सुरक्षाको सवालमा आयोग तत्पर रहेको बताउनु भयो । इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले प्रदेश २ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू बढ्दो क्रममा रहेकाले काम गर्न चुनौती थपिएको बताउनु भयो ।

मानव अधिकार रक्षकहरूले सामूहिकतामा विश्वास गरी काम गर्न सके जस्तासुकै चुनौतीको पनि सामना गर्न सकिने संयोजक पासवानले बताउनु भयो । नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष राजेशकुमार कर्णले प्रदेश २ मा मानव अधिकार रक्षकहरूकोे अवस्था सुखद नभएको बताउनु भयो । उहाँले यस वर्ष प्रदेश २ मा १४ जना पत्रकारमाथि राज्यपक्ष र अन्यपक्षबाट आक्रमण र धम्कीका घटना अभिलेख गरिएको बताउनु भयो । गैरसरकारी संस्था महासङ्घ नेपाल प्रदेश २ की सदस्य पिङ्कीकुमारी साहले मानव अधिकार रक्षकहरूको समेत मत बाझिँदै आएकाले समस्या थपिने गरेको बताउनु भयो ।

 

दिपेन्द्रप्रसाद सिंह