








सुर्खेत । २०७७ चैत ९ गते
इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा चैत ८ गते प्रदेशमा मानव अधिकार रक्षकहरूको वर्तमान अवस्था विषयक कार्यशाला वीरेन्द्रनगरमा सम्पन्न भएको छ । कार्यशालाको उद्घाटन सत्रमा इन्सेक केन्द्रीय कार्य समिति सदस्य शोभाकर बुढाथोकीले राज्यलाई जिम्मेवार र जवाफदेही बनाउन मानव अधिकार रक्षकहरूको प्रमुख भूमिका रहेको बताउनु भएको छ । मानव अधिकारको संरक्षण, सम्बद्र्धन र पालना गराउने राज्य तथा पालना गर्ने नागरिकहरूलाई सचेत गर्ने कार्य पनि मानव अधिकार रक्षकहरूको रहेको सदस्य बुढाथोकीले उल्लेख गर्नु भयो ।
मानव अधिकार रक्षकहरू एकजुट भएर अघि बढेमा मात्र मुलुकमा समृद्धि, सुशासन र सामाजिक न्याय स्थापित गर्न सकिने सदस्य बुढाथोकीको भनाई थियो । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले मानव अधिकार रक्षकहरूले आफनो दायित्व र कर्तव्य पालनामा चनाखो बन्नुपर्नेमा जोड दिनु भयो ।
कार्यशालामा इन्सेकका सरिता पुरीले सुरक्षा प्रविधि, मानव अधिकार रक्षकहरूको अधिकार, मानव अधिकार रक्षक सञ्जाल सुर्खेतका संयोजक पिताम्बर ढकालले कर्णाली प्रदेशको मानव अधिकार रक्षकहरूको वर्तमान अवस्था र चुनौति तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक सुजन पन्तले मानव अधिकार रक्षकका लागि कानुनी व्यवस्थाका बारेमा सहजीकरण गरेका थिए ।
यस्तै इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले मानव अधिकार अभिलेखीकरण, पैरवी र महिला मानव अधिकार रक्षक सञ्जालका केन्द्रीय सदस्य पवित्रा शाहीले हानी नगर्ने प्रविधीका बारेमा सहजीकरण गरेको इन्सेक कर्णाली प्रदेश कार्यालयका प्रलेख अधिकृत टीका विष्टले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला स्थित मानव अधिकार रक्षकहरू, नागरिक संस्थाका प्रतिनिधि, कानुन व्यवसायी र सञ्चारकर्मीहरूको उपस्थिती रहेको थियो ।
दुर्गा थापा