मानव अधिकार रक्षकहरू सुरक्षित भए मात्र पैरवी प्रभावकारी हुन्छ : बुढाथोकी

दैलेख । २०७७ चैत ९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कार्यसमिति सदस्य शोभाकर बुढाथोकीले अरूको मानव अधिकार वकालत गर्ने क्रममा मानव अधिकार रक्षकहरू नै जोखिममा पर्ने गरेको बताउनुभएको छ । इन्सेकले चैत ९ गते दैलेखमा मानव अधिकार रक्षकहरूको सवलीकरण तथा जिल्ला स्तरीय सञ्जाल निर्माण कार्यक्रममा बुढाथोकीले उक्त विचार राख्नुभएको हो । बुढाथोकीले मानव अधिकार रक्षकहरूको सुरक्षा गर्न सके मात्र मानव अधिकारबाट बञ्चित पीडितहरूको पैरवी गर्ने काम प्रभावकारी हुन सक्ने भएकोले इन्सेकले मानव अधिकार रक्षकहरूलाई संगठित गराउँदै आएको स्पष्ट पार्नुभयो ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुबेदीले इन्सेकको मानव अधिकार प्रवद्र्धन अभियानमा नागरिक समाजको सहयोग उल्लेखनीय रहेको बताउनुभयो । कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका मानव अधिकार सवलीकरण परियोजनाका संयोजक सरिता पुरीले जिल्ला स्तरीय सञ्जालले मानव अधिकार पैरबीको क्षेत्रमा संगठित आवाजको काम गरेको र जसको बलबाट राज्यका निकायहरूलाई जिम्मेवार बनाएको अनुभव सुनाउनुभयो ।

मानव अधिकार समूहका संयोजक रेखा थापाको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले मानव अधिकार विश्वव्यापी घोषणापत्र, विभिन्न महासन्धी, नेपालको संविधान र ऐन कानूनले मानव अधिकार सवलीकरणमा पु¥याएको सहयोग र दैलेखमा मानव अधिकारको अवस्था विषयमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरूबीच जिल्लाको मानव अधिकारको अवस्था सुधार सवालमा खुल्ला छलफल समेत भएको थियो । छलफलमा पत्रकार बिशाल सुनारको संयोजकत्वमा १३ सदस्यीय जिल्ला स्तरीय सञ्जाल गठन गरेको छ । सञ्जालको सहसंयोजक लिला खत्री र सदस्य सचिव इन्सेक जिल्ला प्रतिनिधि रहनुभएको छ । जिल्ला स्तरीय मानव अधिकार सञ्जालमा जिल्लामा अधिकारको वकालत तथा पैरबी गर्दै आउनुभएका जीतबहादुर जीसी, तेजबहादुर थापा, बृष बयलकोटी, टंक सुनार, यज्ञराज थापा, रमा श्रेष्ठ, सविना बिक, टेकबहादुर केसी, टोपेन्द्र सोनी र सर्वजीत थापा सदस्यको रूपमा रहनु भएको छ ।

अमर सुनार