मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
सिरहा । २०७९ असार ९ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । असार ८ गते सिरहाको लहानमा आयोजित कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारले सन् २०२२ को ६ महिनाको अवधिमा जिल्लामा अभिलेख गर्नु भएको ४२ ओटा मानव अधिकार उलङ्घन तथा ज्यादतीका घटना प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदनमा उल्लेखित घटना मध्ये राज्य पक्षबाट दुई र अन्य पक्षबाट ४० घटना भएको हो । बालिका बलात्कारका ६, यौन दुव्र्यवहारको तीन, महिला बलात्कारका आठ, परिवारजनबाट हत्या दुई, बहुबिबाहका १२, आगजनी एक, सपत्ति क्षति एक, गिरफ्तार एक, आत्म हत्या दुरुत्साहन एक, हत्या ६ र दुव्र्यवहार एक घटना प्रतिवेदनमा उल्लेख छ । जिल्ला प्रतिनिधिले अभिलेख गर्नु भएको ४२ घटनामा १९ पुरुष र ३३ महिला गरी ५२ जना पीडित भएका छन् । समीक्षा बैठकमा लहान नगरपालिकाका नगर उपप्रमुख रामचलितर महतोले न्यायिक समितिबाट दिइने न्याय प्रक्रियालाई चुस्तदुरुस्त बनाइ कार्य गर्ने बताउनु भयो ।
समाजमा लैङ्गिक हिंसामा महिला मात्रै नभई पुरुष समेत पीडित हुने भएकोले पीडित मुखि भएर सबैको सहकार्यमा न्याय सम्पादन गर्ने उहाँले प्रतिबद्धता जनाउनु भयो । उपप्रमुख महतोले एक्लैको पहलमा केही गर्न नसक्ने भएकोले नेपाल प्रहरी र संघ संस्थाहरुले मिलेर जनचेतना फैलाउन आवश्यक रहेकोले यसका लागि सबैको समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयो । इलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमार प्रसाद मैनालीले इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकले मानव अधिकार संरक्षण र सम्बद्र्धन गर्ने कार्यमा मार्गदर्शन दिने गरेको बताउनु भयो । मानव अधिकार वर्ष पुस्तकले कुन क्षेत्रमा काम गर्नु पर्ने भन्ने सन्दर्भमा सुझाब समेत दिएको उहाँको भनाई थियो । प्रहरी एक्लैले मानव अधिकारको संरक्षण तथा अपराधको न्यूनिकरण गर्न नसक्ने हुँदा यसका लागि सबैको सहकार्य आवश्यक रहेको उहाँले बताउनु भयो । अधिकारकर्मी देवराज पोखरेलले इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तक सबैको सोधको पुस्तक भएको बताउनु भयो ।
इन्सेक मधेस प्रदेश कार्यालय, जनकपुरधाम