मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा

पर्सा । २०७८ पुस ६ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलन गरिएका घटनाको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ६ गते पर्सामा सम्पन्न गरिएको छ । पर्सामा एक वर्षको अवधिमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन इन्सेक पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेले पस्तुत गर्नु भएको थियो ।
प्रतिवेदनमा ७५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू उल्लेख छ । त्यसमध्ये बालिका बलात्कारका ३७ ओटा घटना छन् । महिला बलात्कारका नौ, बलात्कार प्रयासका पाँच, बालविवाहका चार, बहुविवाहका चार, हत्याका पाँच, बेचबिखनका तीन, ‘बोक्सी’को आरोपका दुई ओटा लगायतका घटना प्रतिवेदनमा समेटिएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी रमेशकुमार बस्नेतले कानुनको अनभिज्ञता क्षम्य नहुने भन्दै सबै मानिसले कानुनको जानकारी राख्नु आवश्यक रहेको बताउनु भयो । उहाँले कानुन कार्यान्वयन गर्ने निकायले कार्यान्वयन गर्नै पर्ने भएकाले कानुन कार्यान्वयन गर्ने क्रममा राज्यपक्षबाट हुने मानव अधिकार उल्लङ्घनका घटना नहोस भन्ने विषयमा प्रहरी निकै संवेदनशील भएको बताउनु भयो । इन्सेक पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेले यस वर्ष बालबालिका पीडित भएका घटना बढी भएकाले बालबालिकामा अभिभावकत्व भूमिका कम भएको पाइएको बताउनु भयो । ‘यो समाजको लागि अत्यन्त गम्भीर र चिन्ताको विषय रहेको भन्दै उहाँले दाइजोसँग जोडिएर हुने मानव अधिकार उल्लङ्घटनाका घटनाले समाजमा फैलाइने सचेतनाका कार्यक्रमहरूको प्रभाव कम भएको देखिएको छ ।’–लामिछानेले भन्नु भयो ।

अनलाइन डेस्क