मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि वर्षिक पूर्व समीक्षा सम्पन्न

दोलखा । २०७९ मङ्सिर २६ गते

इन्सेकद्वारा हरेक वर्ष प्रकाशन गरिने नेपाल मानव अधिकार वर्ष पुस्तकको वार्षिक पूर्व समीक्षा कार्यक्रम ०७९ मङ्सिर २६ गते चरिकोटमा सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि उद्धव पोखरेलले जिल्लामा सन् २०२२ को जनवरीदेखि हालसम्मको अवधिमा १३ ओटा बलात्कारका घटना, बलात्कार प्रयासका पाँच ओटा, यौन दुर्व्यवहारका दुई ओटा, बहुविवाहका सात ओटा, कुटपिटका पाँच ओटा र हत्याका दुई ओटा गरी जम्मा ३३ ओटा मानव अधिकारका उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख भएको बताउनु भयो । कार्यक्रममा भीमेश्वर नगरपालिका प्रमुख इश्वरनारायण मानन्धरले कानुन जति कडा बनाए पनि बलात्कार, आत्महत्याका घटनाको उल्लेख्य सङ्ख्या देखिएकोले कानुनी सचेतना बढाउनु पर्ने र न्यायमा आम नागरिकको पहुँच बृद्धि गर्ने काममा अधिकारकर्मी संस्था र स्थानीय सरकारको समन्वयमा चेतना मुलक कार्यक्रम सञ्चालन गरी मानव अधिकारको संरक्षण, संवर्धन र प्रवर्धन गर्नुपर्ने धारण राख्नु भयो ।

शिक्षित व्यक्तिहरू पनि बेरोजगार रहेको र समाजिक सञ्जालको दुरुपयोग भएको बताउँदै रोजगारका अवसर सृजना गर्नसके मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा कमी आउने प्रमुख मानन्धरले बताउनु भयो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जिवी मास्के, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रमेश खतिवडा, हुराडेक नेपाल दोलखाका कार्यक्रम संयोजक शेरवहादुर भुजेल, नेपाल पत्रकार महासङ्घ दोलखा शाखाका उपाध्यक्ष सृजनकुमार घिमिरे, नेपाल बार एसोसिएसन दोलखा ईकाइका अध्यक्ष कृष्ण बस्नेत लगायतले मानव अधिकार उल्लङ्घनका घटनाको सङ्ख्या बढ्नुमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारको मानव अधिकार संरक्षण र प्रवर्धनमा नजर नपुगेको धारणा व्यक्त गरेका थिए ।

इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा