मानव अधिकार वर्ष पुस्तक -२०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
लमजुङ । २०७७ पुस ९ गते
अनौपचारिक क्षेत्र सवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार वर्ष पुस्तक २०२१ को लागि सङ्कलन गरी अभिलेख गरिएका घटनाहरूको पूर्व समीक्षा कार्यक्रम पुस ८ गते बेसीशहरमा सम्पन्न भएको छ । विगतका वर्षहरूमा झै वर्ष पुस्तक प्रकाशनको पूर्व तयारीका लागि गरिएको समीक्षा कार्यक्रम जिल्लामा महिला माथि यौन दुर्व्यवहार र घरेलु हिंसाका घटनाहरू बढेको पाइयो । जनवरी २०२० देखि १५ डिसेम्बर सम्म लमजुङमा ३६ ओटा मानव अधिकार उल्लड्घन र ज्यादतीका घटनाहरूको अभिलेखिकरण गरिएको छ ।
अभिलेख गरिएका घटनाहरू मध्ये राज्य पक्षबाट एक ओटा गिरफ्तारी, गैराराज्य पक्षबाट १७ ओटा यौन दुर्व्यवहार, हत्या दुई ओटा, कथित बोक्सीको आरोप एक, कुटपिट एक र १४ ओटा घरेलु हिंसाका घटनाहरू रहेका छन् । कार्यक्रममा लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले मानव अधिकारकोे सुरक्षाका लागि राज्य चनाखो हुँदाहुदै पनि यदाकदा घटनाहरू भइरहेकोले यसको न्यूनिकरणमा सबैले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी गंगाबहादुर थापाले जिल्लामा कुनै पनि मानव अधिकार हननका घटना हुन नदिन प्रहरी सम्वेदनशिल रहेको र विशेष गरेर महिलामाथि हुने घटनाहरूमा प्रहरी धेरै नै सचेत रहेको बताउनुभयो । इन्सेक जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीले प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा पत्रकार एवंम नागरिक समाजका प्रतिनिधि कृष्ण केसीले अध्यक्षता रहेको थियो । कार्यक्रममा जिल्लाका नागरिक समाज पत्रकार, सरकारी कार्यलयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
दलबहादुर मजाकोटी