मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
सिन्धुपाल्चोक । २०७८ असार ३१ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम ०७८ असार ३१ गते चौतारामा सम्पन्न भएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख तथा जिल्ला न्यायधिवक्ता निमा घिमिरेको प्रमुख आतिथ्यतामा र गैर सरकारी संस्था महासङ्घ जिल्ला अध्यक्ष गोविन्द सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा इन्सेक प्रतिनिधिद्वारा ०७७ पुस १७ गतेदेखि ०७८ असार १६ गतेसम्मको ६ महिनामा सङ्कलन गरिएका २८ ओटा मानव अधिकारसँग सम्बन्धित घटनाहरू प्रस्तुत गरिएको थियो । जसमा बालअधिकारसँग सम्बन्धित १५ ओटा घटनामा नौ ओटा बलात्कार र यौन दुर्व्यवहारका ६ ओटा रहेका छन् । त्यसैगरी महिला अधिकारका १३ वटा घटनाहरू मध्ये महिला हत्याका दुई, बलात्कार घटनाका पाँच र बलात्कार प्रयास तथा यौन दुुब्र्यवहारका पाँच तथा बहुविवाह एउटा घटना भएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला सरकारी वकील कार्यालयका न्यायधिवक्ता निमा घिमिरेले मानव अधिकारको कार्यान्वयनको लागि नेपालको संविधानको प्रस्तावना देखि विभिन्न प्रावधानहरूमा व्यवस्था गरिएको हुँदा यसको संरक्षणमा सबैपक्ष क्रियाशील रहनुपर्ने बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत सुनिता पहरीले सबैको समन्वयमा मात्र मानव अधिकारको रक्षा हुने धारण राख्नुभयो । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी.ले मानव अधिकारको संरक्षणमा प्रहरी सधैभरि प्रतिबद्ध रहेको धारणा राख्नुभयो । गैरसरकारी संस्था महासङ्घ केन्द्रीय सदस्य राजेन्द्र शर्माले मानव अधिकारलाई प्राकृतिक विपतसँग पनि जोड्नु पर्ने धारणा राख्नुभयो । जिल्ला बार इकाइका अध्यक्ष भूपेन्द्र थिङले इन्सेकको क्रियाशिलताले मानव अधिकार संरक्षणमा योगदान पुगेको बताउनु भयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले सबैले आ–आफ्नो कर्तव्य पालना गर्ने हो भने मानव अधिकार उल्लङ्घन नहुने बताउनुभयो । कार्यक्रममा महिला मानवअधिकार रक्षक रिना श्रेष्ठ, गैसस सचिव प्रकाश नेपाल, कानुन व्यवसायी शशीनाथ आचार्य, चन्द्र बस्नेत पत्रकार दीपक खत्रीले समेत जिल्लाको मानव अधिकार अवस्था बारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।
नातिबावु धिताल