मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा
सर्लाही । २०७८ पुस ५ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलन गरिएका घटनाको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ४ गते मलङ्गवामा सम्पन्न गरिएको छ । जनवरीदेखि डिसेम्वर १९ सम्मको अवधिमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन इन्सेक सर्लाही प्रतिनिधि बुधन साहले कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो ।
प्रतिवेदनमा राज्यबाट भएका मानव अधिकार उल्लङ्घनका घटनामा चार जना, अन्य पक्षबाट भएका घटनामा चार जनाको हत्या, यौनजन्य हिंसाबाट सात, बलात्कारबाट १३, झडपमा भएकव् कुटपिटबाट १६, अपहरणबाट एक जनालगायत ५३ जना पीडित भएका उल्लेख छ । कार्यक्रममा मलङ्गवा नगरपालिकाका प्रमुख नरिसल साहलले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख गरी सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउने कार्य सराहनीय रहेको भन्दै इन्सेक प्रतिनिधिले अझै जिल्लाभरिको स्थानीय तहसम्म पुगेर यस्ता घटना उजागर गर्न सुझाव दिनु भयो ।
पत्रकार अनबर अहमद मिकरानीले जिल्लामा भएका कतिपय घटना छुटेको देखिएकोले मानव अधिकारसँग जोडिएको घटना नछुटिने गरी समेट्न सुझाव दिनु भयो । न्यायिक समितिको क्षमता अभिबृद्धि गर्न सकेमा पीडित पक्षले सहज र छिटोछरितो न्याय पाउने आशा गर्दै ओरेक नेपालकी जिल्ला संयोजक देवकुमारी महराले मानव अधिकारको संरक्षणमा सबैको सहयोगको आवश्यकता रहेको बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका एसपी कृष्ण प्रसाइँले मानव अधिकारकर्मीहरूले वास्तविक दोषीलाई र वास्तविक पीडितलाई न्यायको प्रक्रियामा ल्याउनको लागि सहजिकरण गर्नुपर्ने बताउनु भयो ।
अनलाइन डेस्क