मानव अधिकार वर्ष पुस्तक २०२१ पूर्व समीक्षा कार्यक्रम सम्पन्न

मुस्ताङ। २०७७ मङ्सिर २० गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा मानव अधिकार वर्ष पुस्तक २०२१ को लागि सङ्कलन गरी अभिलेख गरिएका घटनाहरूको पूर्व समीक्षा कार्यक्रम मङ्सिर १९ गते जोमसोममा सम्पन्न भएको छ । विगतका वर्षहरूमा भन्दा अहिले चालु वर्षमा बलात्कार तथा महिला हिंसाका घटना बढ्न थालेको छ । सरकारी वकिल कार्यालय मुस्ताङका सहायक जिल्ला न्यायधिवक्ता टेकनाथ अधिकारीले जिल्लामा बलात्कार जन्य तीन ओटा घटना रहेको बताउनुभयो । कार्यक्रममा अधिकारीले विगत भन्दा घटनाहरू बढ्न थालेको बताउनुभएको थियो ।

इन्सेकका प्रतिनिधिले प्रस्तुत गरेका बलात्कार सम्बन्धी तीन र घरेलु हिंसाका दुई घटनामाथि सहभागीहरूले छलफल गर्नुभएको थियो । कार्यक्रममा इन्सेकले मानव अधिकारको क्षेत्रमा पुराएको योगदान उल्लेख्य रहेको बताउँदै जिल्लामा इन्सेकको उपस्थिति मजबुत हुनुपर्ने सांसद थकालीले बताउनुभएको थियो ।

थकालीले हिंसा तथा अधिकारका कुराहरूलाई नीति बनाएरै व्यवस्थित गर्नुपर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेल, घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष सर्मीला गुरूङ, जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर आशिष अधिकारी, जोमसोम अस्पतालका डाक्टर शिव भण्डारी, नेपाल रेडक्रस सोसाइटी मुस्ताङका सभापति चन्द्रबहादुर थकाली लगायतले आफ्नो विचार राख्नुभएको थियो ।

अमृतप्रसाद पौडेल