मानव अधिकार शिक्षा कार्यक्रमको प्रभावकारिताबारे सरोकारवालासँग छलफल

दैलेख । २०८० फागुन १७ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले दुल्लू नगरपालिकामा सञ्चालन गरेको मानव अधिकार शिक्षा कार्यक्रमको प्रभावकारिता र स्थानीय सरकारको सहकार्य विषयमा फागुन १७ गते सरोकारवालासँग छलफल गरिएको छ । मानव अधिकार शिक्षा कार्यक्रमका कर्णाली प्रदेश फोकल पर्सन दुर्गा थापा र इन्सेकका मानव अधिकार प्रलेख अधिकृत पुरनप्रसाद चौधरीको टोलीले दैलेखको दुल्लू नगरपालिका उपमेयर बिना कार्की, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किर्तिखम्ब र प्रेमदेबी माध्यमिक विद्यालय पादुकाका शिक्षक तथा बाल अधिकार समूहका पदाधिकारीहरुसँग छलफल गर्नु भएको थियो । उपमेयर कार्कीसँग दुल्लू नगरपालिकामा गठित मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, कृषि, वातावरण संरक्षण, जातीय विभेद र लैंगिक हिंसा सवालमा पहिचान गरेका समस्या समाधानका लागि पैरवी तथा मागदाबी भएका विषयमा भएका उपलब्धी र नीतिगत पहलहरुका विषयमा छलफल भएको थियो ।

       

मानव अधिकार समूहले समस्या समाधानका लागि नगरपालिकामा पेश गरेका मागदाबी बारे नगरपालिकाले समाधान गरेकाका कामको अनुभूती र समाधान नसक्नुका चुनौती विषयमा प्रष्ट्याउदै उपमेयर कार्कीले नगरपालिका लगायत सरकारका अरु संयन्त्रहरु र नागरिक समाज संस्थाहरुबाट चाहेको जस्तो सहयोग र तत्परता नपाएको समस्या औल्याउनुभयो । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किर्तिखम्ब शिक्षक लाेकेन्द्र बहादुर विसी र प्रेमदेबी माध्यमिक विद्यालय पादुकाका प्रधानाध्यापक मनिराम जैसी  तथा बाल अधिकार समूहका पदाधिकारीहरुसँग भएको छलफलमा मानव अधिकार शिक्षा कार्यक्रमकाे सहयोगमा जातीय विभेद, छाउपडी प्रथा उन्मूलन सवालमा प्रदर्शन भएका सडक नाटक र अरु अतिरिक्त क्रियाकलापले पारेको प्रभाव विषयमा छलफल भएको थियो । दुल्लू नगरपालिका, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किर्तिखम्ब  र प्रेमदेबी माध्यमिक विद्यालय पादुकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले प्रकाशन गरेको मानव अधिकार वर्ष पुस्तक २०२४ हस्तान्तरण गरिएको थियो ।

अमर सुनार